संसद बैठक बोलाउन राष्ट्रपतिलाई दाहाल–नेपाल समूहको आग्रह

काठमाडौं,६ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले संसदको अधिवेशन बोलाउन माग गरेको छ । संसद विघटनलाई अस्वीकार गर्दै प्रचण्ड–नेपाल पक्षका सांसदको भेलाले अधिवेशन आह्वान गर्न माग गरेको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

प्रचण्ड–नेपाल पक्षीय सांसदको भेलाले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिएकोमा खेद प्रस्ताव पारित गरेको छ । ‘संविधान बमोजिम संसदको अधिवेशन बोलाउनुपर्ने समय भइसकेकाले संसदको अधिवेशन आह्वान गर्न यो बैठक माग गर्दछ,’ प्रस्तावमा भनिएको छ ।
सोमवारको बैठकमा ९० जना सांसद उपस्थित रहेका गुरुङले बताए । केही सांसद काठमाडौं बाहिर रहेकाले उपस्थित हुन नसकेको जानकारी आएको र बुधवार फेरि बैठक राखिएको उनले बताए । भेलामा प्रचण्ड, नेपाल, झलनाथ खनाल लगायत नेताहरू उपस्थित थिए । सांसदको भेलाअघि प्रचण्ड–नेपाल पक्षले कानून व्यवसायीसँग परामर्श गरेका थिए ।

