मंगलबार ओली–दाहाल समूहको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं,६ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेका बेला अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाइएका छन् ।

अध्यक्ष प्रचण्ड पक्षको स्थायी कमिटी बैठकबाट भोलि पुस ७ गते दिउँसो १ बजेका लागि बबरमहलको कार्की व्याङ्केटमा बैठक बोलाइएको भए पनि ओली पक्षले बालुवाटारमै बिहान ९ बजे नै बैठक बोलाएको छ । प्रचण्ड पक्षको बैठक हुनुभन्दा ४ घण्टाअघि नै ओली पक्षको बैठक बस्नेछ ।
केन्द्रीय सदस्यहरूलाई प्रचण्ड पक्षको बैठकका लागि केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले निमन्त्रणा पठाएका छन् भने ओली पक्षबाट सचिव ईश्वरी रिजालले निमन्त्रणा पठाएका छन् ।
भोलि मंगलवार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा केन्द्रीय कमिटीको बैठक बोलाइएको नेकपाका कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिए । लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘भोलि ९ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।’
संसद विघटनपछि ओलीमाथि कारवाही गर्ने तयारी स्वरूप प्रचण्ड पक्षले केन्द्रीय कमिटी बैठक बोलाएकोमा त्यसअघि नै ओली पक्षले बैठक बोलाउँदा नेकपाभित्र समानान्तर अभ्यास शुरू भएका छन् ।

