संघीय संसद तत्काल बोलाउन विपक्षी कांग्रेसको माग



काठमाडौं, १ पुष ।नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सकिएको छ। सभापति शेरबहादुर देउवाले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि आज आफ्नो निवासमा बैठक बोलाएका थिए।

बैठकले संघीय संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ। त्यसैगरी काँग्रेसले पर्सिका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। काँग्रेसले उखु किसानको माग पनि तत्काल सम्बोधन गर्न माग गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस्ता छन बैठकका निर्णय –

१) संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धि मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर बैठकले गरेको छ। संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको छ।

संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेशपश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई सो मान्य नहुने चेतावनी दिंदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ।

२) संघीय संसदको अधिवेशन अविलम्ब बोलाउन बैठकले माग गरेको छ।

३) संवैधानिक परिषद् सम्बन्धि जारी अध्यादेश एवं अन्य समसामयिक राजनैतिक बिषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठक पुस ३ गते बिहान ११.०० बजे बोलाउने निर्णय बैठकले गरेको छ।

४) मंसिर २९ को देशब्यापी प्रदर्शनले कम्युनिष्ट सरकारको सर्वसत्तावाद, तनहुँमा नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहार, कोभिड विरुद्ध सरकारको अकर्मण्यता र भ्रष्टाचार विरुद्ध व्यापक जनअभिमत प्रकट गरेको निष्कर्ष सहित सहभागी सबैमा बधाई ज्ञापन गरेको छ।

प्रतिक्रिया दिनुहोस्