सोलुखुम्बु : नेचासल्यानका १५ विद्यालयमा तीब्र गतिको ईन्टरनेट जडान गरिने



डिल्ली शर्मा
सोलुखुम्बु, २९ मंसिर । जिल्लाको नेचासल्यान गाउँपालिकाले विद्यालयहरुलाइ प्रबिधिमैत्री बनाउन पालिकाभित्रका १५ वटा विद्यालयमा द्रुत गतिको ईन्टरनेट जडान गर्ने भएको छ।

हालै सम्पन्न गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाले विद्यालयहरुमा ईन्टरनेट जडान गर्न लागेको अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो।

अध्यक्ष बास्तोलाका अनुसार पालिकाको सामाजिक बिकास शिर्षक अन्तर्गत बैकल्पिक शिक्षा कार्यक्रमबाट ईन्टरनेट जडान र मासिक शुल्क ब्यहोर्ने निर्णय समेत भएको छ।ईन्टरनेट जडान हुने बिद्यालयमा नेचासल्यानका ६ वटा माध्यमिक र ९ वटा आधारभूत विद्यालयहरु छ्न।

शिक्षालाई सूचना र प्रबिधिसंग जोड्नु आजको प्रमुख आवश्यकता भएको बताउँदै अध्यक्ष बास्तोलाले ज्ञान र सीपको बिस्तारका लागि शिक्षामा समयानुकूल बिकास गर्दै जानुपर्नेमा गाउँपालिकाको जोड रहेको रहस्यखबरलाई बताउनु भयो। ईन्टरनेट जडानपछि बैकल्पिक शिक्षा सिकाइ प्रभावकारी हुने अपेक्षा गरिएको वहाँको भनाइ छ।

शिक्षा क्षेत्रको बिकासका लागि कतिपय विद्यालयहरुमा सुरुमै इलाइब्रेरीको स्थापना गरिसकेको सो गाउँपालिकाले गत बर्षबाट विद्युतीय हाजिरी मेसिन प्रयोगमा ल्याएको छ भने बाल शिक्षा ब्यबस्थापनका क्रममा विद्यालयहरुमा कार्पेट र फर्म बिच्छ्याउनेदेखि बालबालिकाहरु लाई खाजाको समेत ब्यबस्था गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्