परिष्थिति र आवश्यकताका आधारमा बिकासका मोडेल तयार गरेर अघि बढेका छौं : सांसद राइ

सोलुखुम्बु, २३ मंसिर ।नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एबम संघीय संसद प्रतिनिधिसभाका सांसद हेमकुमार राई ‘सुरबीर’ ले निर्बाचनका क्रममा पार्टीले जारी गरेको घोषणापत्रका आधारमा जिल्लाको बिकास र समृद्धिका लागि आफुहरु कृयाशिल रहेको बताएका छन।

संघीय सांसद कोष, प्रदेश सरकार र जिल्लाको माप्यदुधकोशी गाउँपालिकाको संयुक्त लगानी ६ करोड ५९ लाखमा दुधकोशी नदिमा निर्माण हुन लागेको कायाघाट मोटरेबल पुलको शिलान्यास गर्दै सांसद राइले सो कुरा बताउनुभएको हो। सोलुखुम्बु जिल्लाका ५२ वडामध्ये ४८ वटा वडाहरुमा सडक ट्र्याकओपन भइसकेको र स्तरोन्नतिको काम तीब्र रुपमा अघि बढेको जानकारी दिंदै वहाँले गाउँगाउँमा सडक सञ्जालसँगै धमाधम मोटरेबल पुलहरु निर्माण भएपछि त्यसबाट जनताले पाउने सहज र सरल सेवा सुविधा नै सम्बृद्धिको मुख्य आधार भएको बताउनुभयो ।
कम्युनिष्ट सरकार र जनप्रतिनिधिहरुले आजको परिस्थिति र आवश्यकताका आधारमा विकास मोडल निर्माण गरेर अघि बढेको राइको कथन थियो।उनले जनताको प्रतिनिधिको तर्फबाट चालिएका सम्बृद्धि र विकासका कदमहरुबाट समग्र जनताले प्रत्यक्ष लाभको अनुभूति गर्नु नै आफुहरुको सफलता भएको दावी पनि गरे ।
शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेत,नेकपाका जिल्ला अध्यक्ष मानबीर राई,प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाही, माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष जुनितामाया मगर लगायतले आ-आफ्नो धारणा राखेका थिए।
माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बोलेर भन्दा पनि कामबाट विकास विरोधीहरुलाई उत्तर दिइरहेको उल्लेख गर्दै कायखेत मोटरेबल पुलले कोशीपारीको टापुको रुपमा परिचित वाकु क्षेत्रको सम्बृद्धिको ढोका खुल्ने धारणा राखेका थिए ।
३६.५ मिटर लम्बाईको यो मोटरेबल पुलले मेरापिकलगायतका क्षेत्रलाई जोड्ने भएकोले यहाँको पर्यटन प्रवर्द्धनमासमेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले पुलसँगै खानेपानी परियोजना अगाडि बढाउने, सडक सञ्जालले छुन बाँकी रहेको क्षेत्रमा ट्याक ओपन गर्ने, विजुली बत्तिको विस्तार तथा व्यवस्थापन गर्नुका साथै फोरजी टावर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

