सहकार्यलाइ सुदृढ तुल्याउन चीनले नेपाली सेनालाई पाँच करोड युआन सहयोग गर्ने
काठमाडौं, १४ मंसिर – चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो ।


चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको प्रमण्डलबीच जङ्गी अड्डामा आज अपराह्न भएको द्विपक्षीय वार्तामा दुवै देशका सेनाबीचको विद्यमान सौहार्दपूर्ण मित्रवत् सम्बन्धलाई सुमधुर, मजबुत एवं अझ विस्तार गर्न अतिरिक्त सहयोग स्वरुप उक्त रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
“यसअघि चीनले १५ करोड युआन बराबरको सैन्य सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदै तदनुरुप गर्दै आएको छ, कोभिड–१९ का कारण रोकिएका सैन्य सहयोगको ‘प्याकेज’ले अब निरन्तरता पाउनेछ”, विगतमा भएका द्विपक्षीय सहमति र सैन्य सहायता कार्यान्वयन तथा रोकिएका तालीम एवं शिक्षार्थी आदानप्रदानका कार्यक्रम पुनः सञ्चालन गर्न चीनले सरकारात्मक जवाफ दिएको जानकारी दिँदै ती अधिकारीले भने ।
आठ घण्टाको व्यस्त कार्यतालिका पूरा गरेर इस्लामावाद प्रस्थान गर्नुअघि गृहमन्त्री रामबहादुर थापालाई आफ्नो भ्रमणबारे ‘ब्रिफिङ’ गर्दै रक्षामन्त्री बेइले प्रशन्न मुद्रामा भने, “म र मेरो प्रतिनिधिमण्डललाई प्रदान गर्नुभएको आतिथ्यताबाट म र मेरो प्रतिनिधिमण्डल ज्यादै प्रभावित भएको छ ।
हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ एवं उन्नत तुल्याउन मेरो भ्रमण सफल एवं सार्थक रह्यो ।” नेपालको विकास प्रक्रियामा हरसम्भव सहयोग गर्न तथा सहयोगका दायरालाई थप विस्तार गर्न चीन प्रतिबद्ध रहेको बताउँदै उहाँले विकासका प्रशस्त सम्भावना भएको नेपाललाई निकटको असल छिमेकीका नाताले सघाउन चीन तत्पर रहेको दोहोर्याए । उनले भने, “विकास निर्माणका काममा सहकार्य र साझेदारी गरौँ ।”
चिनियाँ विशिष्ट अतिथिले गृहमन्त्री थापालगायत नेपालका उच्च राजनीतिक नेतृत्वलाई बेइजिङमा स्वागत गर्न चीन सरकार आतुर रहेको बताउँदै उपयुक्त समयमा चीनको भ्रमण गर्न मन्त्री थापालाई आग्रह गरे ।
आफूले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएको प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेटवार्ता गरेको र त्यसबाट आफू पूर्ण सन्तुष्ट रहेको बताए । मन्त्री थापाले नेपाली सेनालाई अझ सबल एवं सुदृढ बनाउन थप सैन्य सहयोग प्रदान गर्ने चीन सरकारको निर्णयको स्वागत गर्दै हार्दिक कृतज्ञता व्यक्त गरे ।
यसैबीच परराष्ट्र मन्त्रालयले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीबीच भएका भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध विषयमा विचारविमर्श भएको र परम्परागत द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान भएको बताएको छ । दुवै भेटमा आपसी हित र चासोका विषयका साथै दुई देशबीचको सम्बन्धलाई प्रवद्र्धन गर्ने बारेमा पनि छलफल भएको थियो।

