सोलुखुम्बु : गार्मामा पर्बतारोहण कक्षा सन्चालन गर्ने पर्यटनमन्त्री भट्टराईको प्रतिबद्धता



सोलुखुम्बु,२ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सोलुखुम्बुमा नै पर्वतारोहण सम्बन्धी कक्षा सञ्चालन गर्ने बताएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानको मंगलबार निरिक्षणका क्रममा मन्त्री भट्टराईले पर्वतारोहण तथा पर्यटन अध्ययन प्रतिष्ठान सम्बन्धी विद्येयक संसदमा चाँडै पेश हुने समेत बताए ।

उनले विधेयक पास गरि प्रतिष्ठानलाई महाविद्यालयको रुपमा सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए । गार्मामा करिब ३ हजार रोपनी क्षेत्रफलमा रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानकाबारेमा व्यवस्थापन समितिसँग तत्काल छलफल गरि अन्य आवश्यकीय कार्यहरु अघि बढाउने उनले बताए ।

पर्यटन मन्त्रीको निरिक्षण भ्रमणको क्रममा नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रतिष्ठानको वर्तमान अवस्था र गरिनु पर्ने कार्यका बारेमा जानकारी गराएका थिए । राजभण्डारीले जग्गाधनीले पाउनु पर्ने मुआब्जासमेत पाउन नसकेको बताएपछि मन्त्री भट्टराईले समस्या चाँडै समाधान हुने आश्वासन दिए ।

राजभण्डारीले प्रतिष्ठानको नाममा काठमाण्डौंवाट काम हुनु संघीयताको मर्म विपरित भएको भन्दै प्रतिष्ठानलाई उद्देश्य अनुरुप सञ्चालन गर्न सके सोलुखुम्बुको तल्लो क्षेत्रको पर्यटन प्रबर्द्धधनमा सकारात्मक प्रभाब पर्ने बताए ।

मन्त्री भट्टराई समक्ष स्थानीयले लामो समयदेखि प्रतिष्ठानको भौतिक संरचना निर्माणको क्रममा मात्रै रहनु दुखद भएको गुनासो गरेकाछन्।
खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माण भएको पर्यटन सुचना केन्द्रको उद्घाटन र तेन्जिङ हिलारी बिमानस्थल लगायतको अवलोकन पश्चात् मन्त्री भट्टराई मंगलबार विहान हेलिकोप्टरमार्फत् लुक्लावाट गार्मा आएको सोलुखुम्बु समाचार अनलाइनले जनाएको छ।

मन्त्री भट्टराईले मंगलबारै फाप्लु बिमानस्थलको निरीक्षण समेत गरेका छन।निरीक्षणका क्रममा भट्टराईले नेपालको पर्यटन क्षेत्रमा फाप्लु बिमानस्थलको भूमिका महत्वपूर्ण रहेको बताए। बिमानस्थलको स्थलगत निरिक्षणका क्रममा मन्त्री भट्टराईले बिशिष्ठ महत्वको फाप्लु बिमानस्थलको स्तरोन्नतिका लागि सहयोग गर्ने आश्वासन दिए ।

सो क्रममा मन्त्री भट्टराईलाई नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले फाप्लु बिमानस्थलमा आवश्यक संरचना निर्माणका लागि बजेटको व्यवस्था गर्न भट्टराई समक्ष आग्रह गरे । उनले बिमानस्थलमा सुरक्षाकर्मीको बसोबास लागि समेत ध्यान दिनु पर्ने बताए । नागरिक उड्ययन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले बिमानस्थलका समस्याका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्