नेचासल्यानको शिक्षक दरबन्दी रोक्न सांसद राई र अध्यक्ष बास्तोलाको दौडधुप

डिल्ली शर्मा
सोलुखुम्बु ,२५ कार्तिक । गाउँपालिका भित्र रहेका विद्यालयहरुको दरबन्दी कटौती गरिएपछि संघीय संसद प्रतिनिधि सभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ र जिल्लाको नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोला यतिबेला तीब्र दौडधुपमा छन।

कतिपय बिद्यालयहरुले निजी श्रोतबाटअपुग शिक्षकको अभाव पूर्ति गरिरहेका बेला दरबन्दी कटौती गर्नुका पछाडी विद्यालय बन्द गर्ने नियत रहेको आरोप लगाउंदै सांसद राई र अध्यक्ष बास्तोलासहितको टोलिले आइतबार शिक्षा तथा मानव श्रोत केन्द्रका महानिर्देशकलाई भेटी दरबन्दी कटौतीको निर्णय फिर्ता लिन आग्रह गरेका हुन।
केन्द्रले २०७४ को विद्यार्थी संख्याका आधारमा भन्दै नेचासल्यान गाउँपालिका आधारभूत विद्यालय तहका ११ वटा दरबन्दी कटौती गरि तिनलाइ महाकुलुङ गाउँपालिका पुर्याएको छ। कटौती गरिएका दरबन्दी फिर्ता नभए सबैभन्दा पछिल्लो नियुक्तिबाट गणना हुने गरि राहत दरबन्दीमा नियुक्त शिक्षक महाकुलुङ जानुपर्ने बाध्यता छ।
केन्द्रको परिपत्र अनुसारको मापदण्डका आधारमा दरबन्दी महाकुलुङ पठाउंदा अधिकांश महिला शिक्षक पर्ने भएका कारण पनि उनीहरूमाथी अन्याय हुने ठानेर गाउँपालिकाले यसलाई रोक्ने प्रयास गरिरहेको अध्यक्ष बास्तोलाको भनाई छ ।
शिक्षा मन्त्रालय अन्तरगत रहेको केन्द्रले नेचासल्यानमा कटौती गरेका दरबन्दीहरुको तलब साउनदेखि नै महाकुलुङ पठाइरहेको छ,- ‘तर रोक्न सकिन्छ कि भनेर मैंले उनीहरूलाई गाउँपालिकाकै श्रोतबाट अहिलेसम्म तलब खुवाएर राखेको छु’-अध्यक्ष बास्तोलाले रहस्यखबरलाइ बताए।
उता केन्द्रले भने विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी मिलान तथा ब्यबस्थापन कार्यबिधी-२०७५ अनुसार दरबन्दी मिलान गरिएका कारण यसको कार्यान्वयनको बिकल्प नरहेको स्पष्टीकरण दिंदै आएको छ।
दरबन्दी कटौतीको निर्णयमा पुनर्बिचारका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेलदेखि मातहतका कार्यालय प्रमुखहरुकोसम्म ध्यानाकर्षण गराइएको सांसद राइले बताए।
केन्द्रले गत बर्ष माघमा गरेको दरबन्दी मिलान सम्बन्धित परिपत्रमा उल्लेख दरबन्दी विवरण कृत्रिम रहेको आरोप लगाउंदै कृत्रिम दरबन्दी खडा गरेर दरबन्दी कटौती गर्न नपाइने भन्दै नेचा सल्यान गाउँपालिकाले त्यतिबेलै शिक्षा श्रोत तथा मानब बिकास केन्द्र, सानोठिमी भक्तपुरलाई त्यतिबेलै पत्र पठाएको थियो।
केन्द्रले नेचासल्यान गाउँपालिका भित्रका प्राथमिक तहमा १ सय ७० , निम्न माध्यमिक तहमा ४९ र माध्यमिक तहमा ३८ दरबन्दी रहेको उल्लेख गरेको छ।जब कि गाउँपालिकामा रहेका प्राथमिक तहमा १ सय ३३, निम्नमाध्यमिक तहमा ३८ र माध्यमिक तहमा ३४ वटा भन्दा बढी दरबन्दी छैन।
‘यसरी प्राथमिक तहमा ३३ निम्नमाध्यमिक तहमा ११ र माध्यमिक तहमा ४ वटा बढी कृत्रिम दरबन्दी सृजना गरेर दरबन्दी कटाउने काम भएको छ, यो सरासर हामी माथि गरिएको अन्याय हो’,- गाउँपालिका अध्यक्ष बांस्तोलाले भने।

