नेचा सल्यान- थुलुङ दुधकोशी सिधा यातायात सन्चालनमा


सोलुखुम्बु , २३ कार्तिक । जिल्लाको नेचा सल्यान र थुलुङ दुधकोशी गाउँपालिकाबीच अब सिधा यातायात सन्चालनमा आउने भएको छ। नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको पहलमा दुई गाउँपालिकाको सीमाका रुपमा रहेको सोलुखोलामा ह्युम पाइप राखिएपछि दुई गाउँपालिका बीच सिधा यातायात सन्चालनका लागि सहज भएको हो।

नेचा सल्यानको वडा नं ४ को पोखरे हुँदै थुलुङ दुधकोशी गाउँपालिका वडा नं २ को रातागाउं जोड्ने चुर्पुघाट सडकपुल निर्माण कार्य सुरुभए पनि सम्पन्न नभएका कारण दुई गाउँपालिकाका स्थानीयले यातायातका साधन प्रयोग गर्दा सोलु दुधकुण्ड नगरपालिका घुम्नुपर्ने बाध्यता थियो।

नेचा सल्यानको वडा नं २ केउरिनीबाट थुलुङ दुधकोशीको ठुलोढुंगा जोड्ने गरि सोलु खोलामा ६ वटा ह्युम पाइप बिछ्याइएपछि मुख्य गरी साबिक पन्चन,सल्यान,जुबु र कांगेलका स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुने सोलुखुम्बु जिबिसका पूर्ब उपसभापति पुण्यप्रसाद दाहालले रहस्यखबरलाइ बताए।
नेपाल कम्युनिस्ट पार्टीका नेता समेत रहेका दाहालका अनुसार केउरिनी-ठुलोढुंगा सिधा यातायात सन्चालनमा आएपछि जिल्लाका सोताङ,महाकुलुङ र माप्यदुधकोशीबाट सन्चालनमा आउने साना सवारीसाधनहरुलाइ समेत ख्याम्पु- गैरी हुँदै ओखलढुंगा पुग्न सहज हुनेछ । चालकहरुको समय र इन्धन बचत गर्न यो सडक सहयोगी हुने दाहालको भनाइ छ।

