नेकपा सचिवालय बैठक : बैठक बोलाउन ओलीलाइ आग्रह गर्ने निर्णय



 

काठमाडौं, २२ कार्तिक ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बसेको सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितको अनौपचारिक बैठकले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई सहमतिमै बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको हो। कार्यकारी अध्यक्ष दाहाल नै औपचारिक बैठक बोलाउन सक्ने भएपनि संकटपूर्ण परिस्थितिमा रहेको पार्टी एकतालाई जोगाएर सहमतिका आधारमा अगाडि बढ्न ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

दाहालसहित सचिवालयका पाँच जना सदस्यले शनिबार सामूहिक रुपमा ओलीलाई भेटेर बैठक बोलाउन आग्रह गर्ने उनले बताए। पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउने र अहिलेसम्मको कामहरुको समिक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकतावद्ध गरेर अगाडी बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाउन अनुरोध गरिने उनले बताए। “आजको अनौपचारिक बैठकले कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाउन सक्ने भएपनि पार्टीको विद्यमान संकटपूर्ण परिस्थितिमा पार्टी एकतालाई जोगाएर अगाडि बढ्न सकभर सहमतिकै आधारमा बैठक बोलाउन उपयुक्त हुने कुरालाई दृष्टिगत गर्दै अध्यक्ष प्रचण्ड सहित ५ जना सचिवायल सदस्यहरुले भोली अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिको आधारमा बैठक छिटोभन्दा छिटो बस्ने अनुरोध गर्ने निर्णय गरेका छौं”, उनले भने।

प्रतिक्रिया दिनुहोस्