सगरमाथा क्षेत्रमा सिधा मोटरबाटो जोडिंदै, मुख्यमन्त्री राइले ओर्लाङघाट पुल उद्घाटन गर्ने



खगिन्द्रराज बास्तोला

सोलुखुम्बु, २१ कार्तिक। बिश्वभरकै पर्यटकहरूको आकर्षणको केन्द्र मानिने पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रलाई सिधा जोड्ने माप्य–खुम्बु मितेरी मोटरेबल पुल आगामी मंसिर ६ गतेबाट औपचारिक सन्चालनमा आउने भएको छ।

ठेकेदार कम्पनी जलप नेपालले ओर्लाङघाटस्थित सो पुलको निर्माण कार्य गत बैशाखमै सम्पन्न गरेपनि यसको औपचारिक उद्घाटन आगामी मंसिर ६ गते गर्न लागिएको माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राइले जानकारी दिए।अध्यक्ष राइका अनुसार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइले सो पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

माप्य र खुम्बु पासाङल्हामु गाउंपालिकाका स्थानीयको लाइफ लाइन मानिएको सो मोटरेबल पुल निर्माणका लागि संघीय सांसद कोषमार्फत १ करोड , प्रदेश सरकारबाट २ करोड र माप्य दुधकोशी गाउँपालिका तथा खुम्बु पासाङल्हामु गाउँपालिकाले ५०/५० प्रतिशत खर्च ब्यहोरेका थिए।

अध्यक्ष राइका अनुसार रु. ९ करोड ४५ लाखको डीपीआर बनेपछि टेण्डर आह्वान गरिएकोमा जलप नेपाल कम्पनीले त्यसको १३ प्रतिशत विलो (न्यून) रकममा काम गरेको हो । कम्पनीले जम्मा रु. ७ करोड २९ लाख ९७ हजार २ सयमा काम सम्पन्न गरेको उनले बताए।

पुल उद्घाटन कार्यक्रममा प्रदेश नं १ का अर्थमन्त्री इन्द्र आङ्बो, संघीय सांसद हेमकुमार राई ‘सुरबीर’, प्रदेश सांसदहरु उत्तमकुमार बस्नेत र बुद्धिकुमार राजभण्डारी, जिसस सोलुका प्रमुख बीरकुमार राई लगायतको उपस्तिथि रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्