सत्तारुढ नेकपाभित्रको संकट झन गहिरिंदै

काठमाडौं, १६ कार्तिक। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको संकट झन गहिरिंदै जान थालेको छ। लामो समयदेखि रोकिएको दुई अध्यक्षबीचको संबादहिनता तोड्दै शनिबार भएको भेटबार्तामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीले अलग अलग भएर अघि जान प्रस्ताव गरेको खुलासा भएसंगै नेकपा भित्रको संकट थप गहिरिंदै गएको विश्लेषण गरिएको हो ।

आइतवार अपराह्न अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ खुमलटारमा भेला भएका थिए ।
ओलीसँग शनिवार भएको भेटमा ओलीले पार्टी फुटाएर अघि बढ्ने प्रस्ताव गरेको प्रचण्डले नेताहरूलाई ब्रिफिङ गर्ने क्रममा बताएका हुन् ।
‘अब सँगै बस्न सकिन्न, बैठकको पनि काम छैन,’ प्रचण्डको भनाइ उदृत गर्दै खुमलटार छलफलमा सहभागी भएका एक नेताले लोकान्तरलाई बताए, ‘तपाईंहरू आफ्नो तरिकाले अघि जानुस्, मलाई मेरै तरिकाले अघि बढ्न दिनुस भनेर ओलीले भन्नुभयो ।’
छलफलमा ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्नसक्ने सम्भावनाका बारेमा पनि कुराकानी भएको थियो ।
आइतवार नै महासचिव विष्णु पौडेलले फेसबूकमा लेख्दै पार्टी एकता जोगाउन नेताहरूलाई आग्रह गरेका थिए ।
गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पार्टीको विवाद समाधान हुने गरी निर्णय गरेपनि प्रधानमन्त्री ओलीले पार्टीसँग सल्लाह नगरी एकलौटी गर्न थालेपछि विवाद झन् गहिरिएको हो ।
शनिवार भएको ओली प्रचण्डबीचको छलफल बिनानिष्कर्ष टुंगिएपछि ओली र प्रचण्ड दुवै पक्षले आ-आफ्नो रणनीति बनाउन छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

