नेपाली, थापा र बस्नेतको निधनप्रति सोलु काँग्रेसद्वारा दुःख व्यक्त

सोलुखुम्बु,१४ कात्तिक । सोलु काँग्रेसका स्थानीय नेताहरु कृष्ण नेपाली, टेकजङ्ग थापा र चक्रबहादुर बस्नेतको निधनप्रति नेपाली काँग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले गहिरो दुःख व्यक्त गरेको छ ।
जिल्ला पार्टी प्रचार विभाग प्रमुख नविन थापाले शुक्रबार शोक वक्तव्य जारी गर्दै प्रजातान्त्रिक आन्दोलनमा उल्लेख्य योगदान पुर्याएका तीनैजनाको निधनले नेपाली काँग्रेस सोलुखुम्बुलाई अपुरणीय क्षति पुगेको जनाएका छन् । नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका ६८ वर्षीय नेपालीको कार्तिक ११ गते, अवकाशप्राप्त शिक्षक समेत रहेका ७१ वर्षीय थापा र नेपाली काँग्रेसको तर्फबाट निर्वाचित थुलुङ दुधकोशी गाउँपालिका–१ नेले वडा कार्य समितिका उपाध्यक्ष चुडाबहादुर बस्नेतका पिता ८९ वर्षीय चक्रबहादुर बस्नेतको बुधबार निधन भएको थियो । थापाद्वारा जारी वक्तव्यमा शोकाकुल परिवारहरुप्रति नेपाली काँग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको तर्फबाट समवेदना समेत प्रकट गरिएको छ ।


