सर्‍यो केन्द्रीय समिति बैठक



काठमाडौँ । सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक एक महिना पछि बस्ने भएको छ । कार्तिक १५ गतेका लागि तय भएको बैठक मंसिर १५ गतेसम्मका लागि सरेको सर्कुलर केन्द्रीय सदस्यहरूलाई गरिएको छ ।

नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले केन्द्रीय सदस्यहरूलाई बैठक सरेकोबारे जानकारी पठाएका हुन् । केन्द्रीय सदस्यहरूलाई पठाइएको जानकारीमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको २०७७ कार्तिक १५ गतेदेखि आयोजना गरिएको तेश्रो पूर्ण बैठक कोभिड- १९ महामारीका कारण स्थगित गरिएको छ । उक्त बैठक आगामी मंसिर १५- १७ मा आयोजना हुने जानकारी गराइन्छ ।’

महाधिवेशनको तयारीका लागि कार्तिक १५ गतेदेखि बस्ने भनिएको बैठक कोरोना भाइरसको संक्रमण र अन्य तयारी पूरा नभएकाले सरेको हो । केन्द्रीय कमिटी बैठकबारे प्रवक्ता श्रेष्ठले बैठक सर्नेबारे बुधबार बिहानदेखि छलफल भएको बताएका थिए । उनले बैठकको अर्को मिति कहिले तय गर्ने भन्नेबारेमा छलफल भइरहेको बताएका थिए । सचिवालय सदस्यहरूसँगको परामर्शपछि बैठकको नयाँ मिति तय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्