एभरेष्ट मेरा फाउण्डेशनद्वारा महाकुलुङमा खाद्य तथा स्वास्थ्य सामाग्री बितरण



सोलुखुम्बु , ९ कार्तिक। कोभिड–१९ महामारीको सङ्क्रमण सुरु भएयता लकडाउनको कारण दैनिक जीवन यापनमा समस्या भोगिरहेका दिनदुखीहरुका लागि एभरेष्ट मेरा फाउण्डेशनले महाकुलुङ गाउँपालिकाका विभिन्न स्थानहरुमा स्वास्थ्य तथा खाद्य सामग्री वितरण कार्य हालसालै सम्पन्न गरेको छ । पहिलो चरण अन्तर्गत छेस्काम र दोस्रो चरण अन्तर्गत बुङमा गरी करिब ३९५ घर परिवारलाई फाउण्डेशनले राहत वितरण गरेको हो ।

यसअघि विभिन्न चरणमा फाउण्डेशनले महाकुलुङ आधारभूत हस्पिटल बुङ र छेस्काम स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोभिडबाट बच्न आवश्यक सुरक्षाको लागि पिपिई सेट प्रदान गरिएको संस्थाका अध्यक्ष दिलिपसिंह कुलुङले जानकारी दिए।

सगरमाथा क्षेत्रमा पर्यटन मजदुरीको काम गरी जीविकापार्जन गर्ने महाकुलुङका अधिकांश किसानी दाजुभाईहरुलाई कोभिड–१९ महामारीको कारण आफ्नो परिवार र विद्यार्थी छोराछोरीहरुको खर्च धान्न गार्‍हो भइरहेको अवस्थामा केही हदसम्म भए पनि सहयोग पुगोस् भन्ने हिसाबले विभिन्न चरणमा खाद्य राहत तथा स्वास्थ्य सामग्री वितरण गरिएकोे हो ।

लामो समयदेखि अनवरत रुपमा न्यू फ्यूचर नेपाल (NFN) युकेले एभरेष्ट मेरा फाउण्डेशनमार्फत महाकुलुङमा मानवीय तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । यस पटक पनि पहिलो चरणमा न्यू फ्यूचर नेपाल (NFN) युकेकै आर्थिक सहयोगमा सगरमाथा क्षेत्रका पर्यटन मजदुरहरुको लागि खाद्य राहत तथा स्वास्थ्यकर्मीहरुको लागि पिपिई सेट र दोस्रो चरणमा पर्यटन मजदुरहरुलाई खाने तेल, दाल लगायत चामल वितरण गरिएको हो ।

कोभिड–१९ कै कारण कामविहीन बनेका पर्यटन मजदुरुको चुलो बलोस् भन्ने उद्धेश्यले राहत वितरण गरिएको अध्यक्ष दिलिपसिंह कुलुङले वताए । सन् २०१५ देखि विभिन्न मानवीय कार्यहरुको लागि न्यू फ्यूचर नेपाल (NFN) युकेले एभ्रेष्ट मेरा फाउण्डेशनलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको हो ।

आफ्नो स्थापनाकालदेखि आजसम्म एभ्रेष्ट मेरा फाउण्डेशनले आधा दर्जन विद्यालयहरुलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिसकेको छ । यस्तै प्राकृतिक विपत्तिमा परेकालगायत अन्य समस्यामा परेका सयौँ दीनदुखीहरुलाई मानवीय सहयोग गरिसकेको छ । अझ फाउण्डेशनले विदेशी व्यक्तिगत दाताहरुको सहयोगमा १५ जना गरिब तथा अनाथ वालवालिकाहरुको स्थानीय विद्यालयहरुमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापनसमेत गर्दै आइरहेको छ ।

करिब २० वर्ष अगाडि कलिलो उमेरमा सगरमाथा क्षेत्रमा स्थानीय साहुहरु र पश्चिमा पर्यटकहरुको ९० किलो हाराहारीको भारी बोक्दाको जस्तो दुःख अरु गरीब वालवालिकाहरुले भोग्न नपरोस् भनेर उनीहरुको शैक्षिक जीवनमा केही मलमपट्टी गर्न सकिन्छ कि भन्ने उद्देश्यले एभरेष्ट मेरा फाउण्डेशन स्थापना गरिएको अध्यक्ष कुलुङले वताए ।

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले एभरेष्ट मेरा फाउण्डेशनद्घारा गरिएका विभिन्न सामाजिक तथा मानवीय कार्यहरुमा सहयोग गर्नु हुने सहयोगी संस्था न्यू फ्यूचर नेपाल (NFN), युकेका सम्मानित सबै बोर्ड मेम्बरहरुप्रति गहिरो आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर होस भन्ने अपेक्षा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्