बालुवाटार किन छिरे ‘र’ प्रमुख गोयल?



काठमाडौं, ६ कार्तिक ।भारतीय चार्टर बिमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै गुपचुप काठमाडौं भित्रिएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल यतिबेला निकै चर्चामा छन।बुधबार गुपचुप काठमाडौं छिरेका गोयलले बालुवाटार पुगेर एकाएक प्रधानमन्त्री केपी ओलीसंग गोप्य मन्त्रणा गरेको सार्बजनिक भएसंगै राजनीतिक बृतमा नयाँ तरंग उत्पन्न गरेको मात्र छैन सत्तारुढ दल नेकपाभित्र यो बिषयले तहल्का नै मच्याउन पुगेको छ।

केहि समय अघिसम्म आफुलाइ प्रधानमन्त्रीबाट हटाउन छिमेकी मुलुक भारतले ठुलै चलखेल गरिरहेको आरोप लगाउंदै आएका प्रधानमन्त्री ओलिले कुटनैतिक मर्यादालाइ खिल्ली उडाउंदै भारतीय गुप्तचर संस्थाका प्रमुख गोयलसंग गोप्य भेटघाट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा उत्पन्न विवादका सवालमा भारतले बार्ता गर्न अस्वीकार गरिरहेका बेला ओलिको यो गोप्य मन्त्रणाको खास अर्थ के हो? यस बिषयमा अहिले व्यापक बिमर्श भैरहेको छ। कतिपयले त नयाँ नक्शा प्रकाशित भएका पाठ्यपुस्तकहरु बितरणमा रोक लगाउने प्रधानमन्त्री ओलिको निर्देशन यो भेटघाटसंग जोडिएको त छैन? जिज्ञासा प्रकट गरिरहेका छन।

भारतसँग सीमा विवाद कायम रहेको बेलामा संक्रमणबीच विशेष पर्मिट लिएर प्रधानमन्त्रीलाई भेट्न आएको पुष्टि भएपछि नेकपाकै नेताहरु नै उक्त भेटलाई आपत्तिजनक भएको भन्दै आलोचनामा उत्रिएका छन।

स्थायी कमिटी सदस्य भीम रावलले गोयल र ओलीको भेट कुटनीतिक मर्यादा विपरित भएको भन्दै विरोध गरेका छन्। उनले ट्वीट गर्दै भेटबारे आपत्ति जनाएका हुन्। नेकपाको नीति र घोषणा विपरित गोयलसँग ओलीले भेट गरेको रावलको दाबी छ।

गोयलले पूर्व प्रधानमन्त्रीहरुसँग समेत भेट गरेको बताइएको थियो। तर नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहल प्रचण्ड, बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल र नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आफूहरुले गोयललाई नभेटेको भन्दै स्पष्टिकरण दिए पनि ओलिसंगको भेटलाइ उनका प्रेस सल्लाहकार सूर्य थापाले नै पुष्टि गरेका छन।

प्रचण्ड निकट स्रोतका अनुसार पार्टीको जानकारी बिनै ओलीले रअ प्रमुखलाई बालुवाटारमा बोलाएको भन्दै उनी आक्रमक बनेका छन्। बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले पनि ओलीले कुटनीतिक मर्यादा नाघेर रअका प्रमुख भेटेको भन्दै रुष्ट बनेका छन्। नेपाल निकट नेताका अनुसार ओलीको पद फेरी पनि धरमराउने स्थितिमा पुगेको छ। ओली विरुद्ध मोर्चाबन्दीमा उत्रिएका नेताहरु फेरी पनि ओलीको कार्यशैलीलाई लिएर क्रुद्ध बनेका हुन्।

नेकपामा ओली प्रचण्डको विवाद बढेपछि हाल उनीहरुको भेटघाट तथा बोलचाल बन्द भएको छ। ओली समुहले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई अविश्वासका प्रस्ताव मार्फत हटाउन खोजेपनि नेपाल समुहको असहयोग पछि रोकिएको छ। नेपाललाई फकाउन ओलीले हरसम्भव प्रयास गरेपनि सफल नभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्