थुलुङ दुधकोशीमा यसबर्ष देउसीभैलो खेल्न नपाइने



सोलुखुम्बु , २ कार्तिक । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै जिल्ला बाहिरबाट गाउँपालिका भित्रने नागरिकहरुले अनिबार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष असिम राइको अध्यक्षता आइतबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो।नजिकिंदा चाडपर्वहरुमा जिल्ला बाहिरबाट गाउँपालिका भित्रिने नागरिकहरुको चापलाई मध्यनजर गरेर उनीहरूको परिवार र गाउँबासीहरुको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित वडाको निगरानीमा १४ दिन क्वारेन्टाइन बस्नु पर्ने निर्णय गाउँकार्यपालिका बैठकले गरेको गाउँपालिकाका प्रबक्ता भुपाल सिं राइले जानकारी दिए। प्रबक्ता राइका अनुसार चाडबाडका बेला बढी भिडभाड हुने भएका कारण पालिका अन्तर्गतका सम्पुर्ण स्थानीय बजारहरु समेत बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ।

कार्यपालिका बैठकले देउसी भैलो जस्ता कार्यक्रमहरु गर्न नपाईने, म्याद गुज्रिएको खाद्य बस्तु र गुणस्तरहीन मदिरा र सुर्तीजन्य बस्तुहरुको बिक्री वितरण गर्न नपाईने साथै जुवातास खेल्न र खेलाउन नपाईने निर्णय महत्त्वपूर्ण निर्णय गरेको प्रबक्ता राइले रहस्यखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्