राप्रपाद्वारा प्रा डा केसीको जीवन रक्षाको माग

काठमाडौं,२२असोज। राष्ट्रिय प्रजातन्त्र पार्टीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग राखी अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीबीचको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकामा खुशी व्यक्त गर्दै आयोगप्रति धन्यवाद ज्ञापन निर्णय गरेको छ । बैठकले जिल्लामा पार्टी समायोजनको समय यही असोज २९ सम्म बढाउने, केन्द्रीय कार्यसमिति विस्तार गर्ने र तीव्र गतिमा सङ्गठन निर्माणमा लाग्ने निर्णय गरेको छ ।
राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित राप्रपालाई अध्यक्षत्रयले आगामी चुनावमा अग्रणी शक्ति बनाउने दृढता व्यक्त गरेको पार्टी केन्द्रीय सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिनुभयो ।


