मोदीले भारतको भूमि चीनलाई सुम्पिएको राहुलको आरोप

एजेन्सी ।भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले भारत–चीन सीमाविवादका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि सीधा आक्रमण गरेका छन् ।
मोदी सरकारले भारतको १२ सय वर्गकिलोमिटर क्षेत्र चीनलाई दिएको अनि चिनियाँ जनमुक्ति सेनाले भारतको एक इन्च भूमि पनि नओगटेको भनी गफ लडाएको गान्धीले बताए ।

पत्रकारहरूलाई सम्बोधन गर्दै गान्धीले मोदीलाई आफ्नो छविको मात्र चिन्ता लाग्ने र छवि बचाउनका लागि उनले भारतको १२ सय किलोमिटर चीनलाई दिएको बताए ।
‘मोदीले विपक्षी दलका नेताहरू र देशवासीलाई कसैले पनि भारतको भूमि नलिएको बताए । तर चीनले १२ सय वर्गकिलोमिटर भूमि लिइसक्यो । चीनले हाम्रो भूमि कसरी लिन पायो थाहा छ ? किनकि चीनलाई थाहा छ, शीर्ष पदमा बसेको व्यक्तिलाई आफ्नो छविको मात्र चिन्ता छ,’ गान्धीले भने ।
मोदीलाई पत्रकार र चीन दुवैसँग उत्तिकै डर लाग्ने किनकि उनीहरूले उनको छवि बिगारिदिन सक्ने राहुल गान्धीको भनाइ छ । त्यसैले मोदी पत्रकारहरूसँग कहिले पनि अन्तर्क्रिया गर्दैनन्, उनले थपे ।
मोदीले खाली अटल सुरुङमा केही समयअघि हात हल्लाएको विषयलाई व्यंग्य गर्दै गान्धीले भने, ‘सुरुङ जान्छौं, एक्लै जान्छौं, हात हल्लाउँछौं ।’ ‘मिडियामा उनको एकाधिकार छ र उनलाई सुरुङभित्र देखाइनेछ भन्ने थाहा छ । त्यसैले उनलाई आफ्नो छविको मात्र चिन्ता छ, देशमा के भइरहेको छ भन्ने विषयमा कुनै लिनुदिनु छैन,’ राहुलले भने ।

