नेपाल पर्यटन बोर्डमा मजदुरहरुको प्रदर्शन

काठमाडौं, ११ असोज ।कोरोना भाइरसका कारणले धराशायी बनेको पर्यटन क्षेत्रका मजदुरहरुले विभिन्न माग राख्दै नेपाल पर्यटन बोर्ड अगाडी प्रदर्शन गरेका छन।
कल्याणकारी कोषको १० प्रतिशत राहत दिलाउन र पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामालगायत माग राखेर पर्यटन मजदुरहरुले आइतबार बोर्डमा प्रदर्शन गरेका हुन। कोरोना भाइरसका कारणले आयको स्रोत गुमेकाले मजदुरको सुरक्षा तथा रोजीरोटीको सुनिश्चितता, कल्याणकारी कोषबाट १० प्रतिशत राहत दिनुपर्ने, पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका माग मजदुरहरुको छ।
पर्यटन मजदुर संघर्ष समितिका महासचिव पेवाङचु शेर्पाले भने कोरोना भाइरसका कारण आम्दानीको स्रोत बन्द भएकाले कल्याणकारी कोषबाट १० प्रतिशत राहत प्याकेज दिनुपर्ने बताएका छन्।
‘महामारीका कारण उत्पन्न संकटपूर्ण अवस्थामा पर्यटन क्षेत्रका मजदुरको अधिकार र अस्तित्व रक्षाका लागि सरकारले कुनै पनि काम गरेको छैन’, उनले भने, ‘त्यसैले मजदुरका लागि खडा गरेको कल्याणकारी कोषबाट हामीलाई १० प्रतिशत राहत दिनुपर्छ।’
उता नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत रेग्मीले भने पर्यटन मजदूरको माग बोर्डले नभई टानले पूरा गर्नुपर्ने बताए।
उनले भने – ‘कल्याणकारी कोषबाट पैसा बाँड्न मिल्दैन र कानूनमा बाँड्न मिल्ने प्रावधान पनि छैन।’ कोषको पैसा मजदुरहरु बिरामी हुँदा,उनीहरुको परिवारमा कसैको मृत्यु हुँदा वो दुर्घटना भएकामा मात्र राहत दिन मिल्ने अधिकृत रेग्मीले बताए।
टानबाट सिफारिस भएका मजदुरहरुलाई यस्तो शीर्षकमा पर्यटन बोर्डले पैसा दिएको बताउंदै रेग्मीले टानले आन्तरिक लेखा परीक्षण नगरेसम्म अहिले उनीहरुलाई पैसा दिन सक्ने अवस्था नरहेको बताए।


