सेनाले खोल्यो छारुङ र तिंकर आवतजावत गर्ने घोरेटो बाटो

काठमाडौं, १० असोज ।नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्रयाक खुलाएको छ।
गत जेठ ९ गतेदेखि काम सुरू गरेको सेनाले ५५० मिटर बाटोको ट्रयाक खुलाएको हो।

भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरूद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो। चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्रयाक खुलाएको हो। मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्रयाक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए।
‘भिर फुटाएर ट्रयाक खुलाइएको छ’, उनले भने, ‘सफाइ गर्ने काम एक दुई दिनभित्र सकिन्छ।’ यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ। व्यासको छांगरु र तिंकरका बासिन्दा कात्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन्। व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ।
चट्टानी भूगोलले केही ढिलाइ भए पनि स्थानीयका लागि सहजरूपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको व्यास–२ का बासिन्दा हरकसिंह कार्कीले बताए। घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्रयाक राम्रो खुलेको र त्यो बाहेकका अन्य चार पाँच ठाउँमा पुनः बाटो अवरूद्ध भएको उनले बताए।

