जनधनको क्षतिप्रति कांग्रेसद्वारा दुख व्यक्त, पीडित परिवारलाई राहत र स्वास्थ्योपचारको ब्यबस्था गर्न माग

काठमाडौं,८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर अविरल परेको वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बिहीबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै उक्त क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।
कांग्रेसद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ–‘अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १४ तमादीमा आज बिहान गएको पहिरोमा एकै परिवारका नौ जनाको मृत्यु र एक जना वेपत्ता भएका छन् । त्यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नं. ४ मा एक जनाको मृत्यु, पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले घर पुरिदा पाँच जना वेपत्ता र कपिलवस्तुको बनगाई–डोहोट सडकखण्ड अन्तर्गत कोइली खोलामा पजेरो जीप खोलाले बगाउँदा एक जनाको मृत्यु र एक जना वेपत्ता भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गर्दछ ।’
त्यस्तै पहिरोमा परि जीवन गुमाएका नेपालीहरुप्रति कांग्रेसले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । साथै बाढी पहिरोका कारण वेपत्ता भएकाहरुको खोजी र पीडितलाई राहत र स्वास्थ्य उपचार उपलब्ध गर्न समेत माग गरेको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ–‘वेपत्ताहरुको खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारहरुलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।’


