सतर्कता अपनाउंदै शैक्षिक संस्था सन्चालन गर्न संयुक्त विद्यार्थी संगठनको माग



 

काठमाडौं,३१ भाद्र। विभिन्‍न दलनिकट विद्यार्थी संगठनहरुले सरकारलाई स्वास्थ्य सतर्कता अपनाउँदै शैक्षिक संस्थाहरुको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका छन् ।

अखिल (क्रान्तिकारी) को आयोजनामा काठमाडौंमा मंगलबार सम्पन्न संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सरकारलाई शैक्षिक संस्थाहरुको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न सरकारसँग आग्रह गरेको हो ।

कोरोना भाइरस तत्काल नियन्त्रण नहुने र अझै एक–दुई वर्ष रहने प्रक्षेपण गरिएको अवस्था स्मरण गराउँदै विद्यार्थी संगठनहरुले वैकल्पिक सिकाइ प्रभावकारी नभएको र शैक्षिक सत्र खेर जाने देखिएकोले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठन सञ्चालनको वातावरण तयार गर्न आग्रह गरेका हुन् ।

बैठकमा सहभागी नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेले सत्तारुढ प्रतिपक्षमा रहेका दलनिकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले कक्षा १२, क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाएर परीक्षा सञ्चालन गर्न पनि आग्रह गरेको जानकारी दिए ।

उनकाअनुसार बैठकले निजी विद्यालय र क्याम्पसहरुले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेको दाबी गर्दै भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारबाही गर्न पनि माग गरेको छ । उनले शिक्षा क्षेत्रमा देखिएका समस्याको उठान गरी शिक्षामन्त्रीलाई मागपत्र पेश गर्ने निर्णय पनि गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्