महासचिव श्रेष्ठ कोरोनामुक्त भएपछि एनओसीले गर्‍यो ८९ जनाको बीमा



काठमाडौं, भदौ २६ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको छ । ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठसहित चार कर्मचारी कोरोनामुक्त भएको केही दिनपछि एनओसीले नेपालमा भएका ओलम्पियनसहित ८९ जनाको कोरोना बिमा गरेको हो । एनओसीका उपाध्यक्ष चतुरानन्द राज वैद्यले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, एनओसी पदाधिकारी, साधारणसभा सदस्य, एनओसी कमिसनका सदस्य र सबै कर्मचारीको बिमा गरिएको बताउनुभयो ।

नेपालमा हाल ४५ जना ओलम्पिकमा सहभागिता जनाएका खेलाडीहरु रहेका छन् । छुटेका बाँकीको बिमा पछि गरिने पनि वैद्यले जानकारी दिनुभयो । उहाँले कतिपयले आफैं व्यक्तिगतरुपमा बिमा गरिसकेकाले दोहोरो नहोस् भन्नका लागि दुई हप्ता समय लगाएर तथ्यांक निकालिएको पनि बताउनुभयो । बिमा नभएका कारण यसअघि चारजना संक्रमितको बिमा दाबी गर्न नसकिएको दुखेसोसमेत उपाध्यक्ष वैद्यले पोख्नुभयो । एनओसीले एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट जनही एक लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्