शुक्रवार भेटिए नेपालमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

काठमाडौं, २६ भाद्र । पछिल्ला केही दिन यता नेपालमा कोरोनाभाइरस संक्रमण निकै बढेको छ । कोरोनाभाइरस संक्रमितको संख्या पनि लगातार बढ्दो छ । शुक्रबार पनि नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीबारमात्र कोरोना संक्रमितको संख्या नेपालमा ५० हजार कटेको थियो ।

अब शुक्रबार १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १० हजार ७ सय १ परीक्षणमा १४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यीमध्ये ४ सय ६३ जना महिला छन् । ९ सय ९१ पुरुष छन् ।
नेपालमा शुक्रबार मात्र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ रहेको छ । योसँगै नेपालमा ३ सय २२ जनाको कोभिड १९ का कारण निधन भएको छ । नेपालमा एकै दिन यति धेरै कोरोना संक्रमित थपिएको शुक्रबार पहिलो पटक हो । कोरोना संक्रमितको संख्यामा काठमाडौं उपत्यकामा पनि अर्को रेकर्ड बनेको छ ।
काठमाडौं उपत्यकामा शुक्रबार मात्र ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ६ सय २० जना काठमाडौंका हुन् । ललितपुर र भक्तपुरका ३८–३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा एकै दिनमा सबैभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको पनि शुक्रबार पहिलो पटक हो ।

