लुक्लामा पर्यटन सूचना केन्द्र सन्चालनको तयारी

खगिन्द्रराज बास्तोला

सोलुखुम्बु , २५ भाद्र । संघीय सरकारको पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको आर्थिक तथा प्राबिधिक सहयोगमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाको लुक्लामा पर्यटन सूचना केन्द्र सन्चालनमा ल्याइने भएको छ।
पर्यटकहरूको आवागमन र बहिर्गमन लगायतका सूचना संकलन र रेखदेखका लागि पर्यटकीय सिजन सुरु भएसगैं सूचना केन्द्र सन्चालनमा ल्याउने तयारी भइ रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रबक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए।सूचना केन्द्रका लागि मन्त्रालय अन्तर्गतको पर्यटन बिभागद्वारा लुक्लामा निर्मित भवन हालै मात्र गाउँपालिकालाइ हस्तान्तरण भएको पनि उनले बताए ।
प्रबक्ता शेर्पाका अनुसार भवन निर्माणका लागि पर्यटन बिभागले ५ करोड ६६ लाख ६४ हजार ३ सय ३१ रुपैयाँ बिनियोजन गरिएकोमा ३ करोड ६३ लाख १ हजार ९ सय ५० रुपैयाँमा निर्माण सम्पन्न गरिएको हो।नव निर्मित सो भवन तीन तले रहेको छ।
बिगतमा भाडामा लिएर अस्थायी भवनबाट कार्य गर्दै आएको पर्यटकीय टिकट काउन्टर भने बिहिवारदेखि सोही भवनबाट सन्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद भट्टराईले जानकारी दिए। सूचना केन्द्रको सन्चालन तथा ब्यबस्थापनका लागि पर्यटन बिभागले आवश्यकता अनुसारको आर्थिक तथा प्राबिधिक सहयोग गर्ने भट्टराईले बताए ।

