मेयर शेर्पा भन्छन,-‘शिक्षालाई गतिशील बनाउन रिड नेपालको भुमिका महत्वपूर्ण’



खगिन्द्रराज बास्तोला

सोलुखुम्बु, २४ असार । सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले विषम परिष्थितिमा पनि शिक्षालाई गतिशील बनाउन प्रभावकारी काम गरिरहेको भन्दै रिड नेपालको प्रशंसा गरेका छन।

अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसरमा मगलबार रिड नेपालद्वारा आयोजित कविता तथा निबन्ध प्रतियोगितालाई सम्बोधन गर्दै मेयर शेर्पाले सो कुरा बताएका हुन। शेर्पाले कोरोना संक्रमणको महामारीका कारण शैक्षिक क्षेत्र प्रभावित हुंदा विद्यार्थीहरु अन्यौलमा परेको बताउंदै बैकल्पिक माध्यमबाट शैक्षिक गतिविधि सन्चालन गर्नेबारे छलफल भइ रहेको जानकारी पनि दिए। नगरपालिकाले नागरिकहरुको जीवन रक्षालाई पहिलो प्राथमिकमा राखेको बताउंदै मेयर शेर्पाले समुदायस्तरमा कोरोना फैलिन नदिन नगरपालिकाले सावधानीपूर्बक चरणबद्ध कार्यहरु गर्दै आएको स्पष्ट पारेका थिए।

कोरोना संक्रमण सुरु भएसंगै विद्यार्थीको सिकाइका लागि रेडियो होम स्कुल कार्यक्रम सन्चालन गरिरहेको रिड नेपालद्वारा आयोजित सो प्रतियोगितामा कवितातर्फ जिल्लाभरका ५७ विद्यार्थी र निबन्धतर्फ १ सय ७८ विद्यार्थी सहभागी भएको शिक्षा बिकास संयोजक केशव गिरीले जानकारी दिए।

शिक्षा र साक्षरता विषयमा भएको कविता प्रतियोगितामा सिंहकाली माध्यमिक विद्यालय तिङलाकी सुस्मा बस्नेत प्रथम, गुंदेल माध्यमिक विद्यालयका यूमन खालिङ द्धितीय र थुलुङ दुधकोशी गाउँपालिका नेलेकी सरिना बस्नेत तृतीय भएको जानकारी गिरीले दिए।

गिरीका अनुसार तीन तहमा गरिएको निबन्ध प्रतियोगितातर्फ कक्षा ४ र ५ का विद्यार्थीहरुबीच शिक्षाको महत्व शिर्षकमा भएको प्रतियोगीतामा हुँगा माध्यमिक विद्यालय सोताङका आशा राई प्रथम, सिंहकाली माध्यमिक विद्यालय तिङलाकी प्रियंका भट्टराई द्धितीय, शहिद नरनाथ आधारभुत विद्यालय नेचाका विशाल विश्वकर्मा तृतीय भएका छन।

कक्षा ६ देखि ८ सम्मका विद्यार्थी बीच सामाजिक विकृती न्यूनिकरणमा बाल क्लबको भूमिका शिर्षकमा भएको निबन्ध प्रतियोगितामा चन्द्रोदय आधारभुत विद्यालय माप्यदुधकोशी गाउँपलिकाका सुक्रम राई प्रथम, दुधकुण्ड हिमालय आधारभुत विद्यालय फाप्लुका दोर्जी तामाङ द्धितीय, काँकु माध्यमिक विद्यालयका संगीना राई तृतीय र
कक्षा ९ देखि १२ सम्मका विद्यार्थी बीच कोरोना न्यूनीकरणमा आम समुदायको भूमिका शिर्षकको प्रतियोगितामा जीवन ज्योति माध्यमिक विद्यालय थुलुङ दुधकोशीका मनोज बाबु कार्की प्रथम, विपि संस्कृत माध्यमिक विद्यालय नेचासल्यानका बर्षा निरौला द्धितीय, हिमालय माध्यमिक विद्यालय माप्यदुधकोशीका प्रेक्षा कटेल तृतीय भएको बताइएको छ।

प्रतियोगीताका प्रथम, द्धितिय र तृतिय स्थान ओगट्न सफल विद्यार्थीहरुलाई क्रमश नगद ३ हजार, २ हजार, १५ सय र एक हजारको साथमा प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै सहभागी विद्यार्थीलाई सहभागितात्मक प्रमाण–पत्र प्रदान गरिनेछ।

कार्यक्रममा आयोजक संस्थाका शिक्षा बिकास संयोजक गिरीले खुला जमघट निषेध गरिएको बर्तमान अवस्थामा पनि प्रतियोगितामा विद्यार्थीहरुको सहभागिता उल्लेख्य रहेको धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्