स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाइ छिटो कार्यक्षेत्रमा जान मन्त्रालयको निर्देशन

काठमाडौं, २३ भाद्र । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिएका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीलाई समयमै हाजिर हुन निर्देशन दिएको छ। सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी समयमै कार्यालयमा उपस्थित नहुने गरेको गुनासो बढेपछि संघीय मन्त्रालयले सोमबार सूचना जारी गर्दै तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।

‘हाल विश्वभर फैलिएको कोभिड-१९ का कारण गर्नुपर्ने व्यवस्थापन लगायतका कार्यहरू सम्पादन गर्न बाधा परिरहेको हुँदा यो सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आआफ्नो सरुवा कामकाजका लागि खटिएको स्थानीय तह तथा कार्यालयमा हाजिर हुन जानु हुन र सोको जानकारी यस मन्त्रालयमा गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ। खटाइएको स्थानमा नजाने कर्मचारीलाई प्रचलित कानुन बमोजिम विभागीय कारबाही हुने समेत चेतावनी दिइएको छ।

