कोरोना भाइरसको त्रास खडा गरेर जनतालाई आतंकित नबनाउन प्रधानमन्त्री ओलिको आग्रह

काठमाडौं, २२ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नोभेल कोरोना भाइरसको संक्रमणबारे भयावह तस्बिर सार्बजनिक गरेर जनतालाई आतंकित नबनाउन सरकारी निकाय र जिम्मेवार ब्यक्तिहरुलाइ आग्रह गरेका छन।

नेपालको उद्योग बाणिज्य क्षेत्रको प्रतिनिधि मण्डलसंगको छलफलमा क्रममा आइतबार प्रधानमन्त्री ओलिले त्यस्तो आग्रह गरेका हुन। सरकारले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलिले स्वतन्त्रताको असन्तुलित वकालतले धेरै ठूलो क्षति हुने तर्क गरेका थिए।
भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छा लगायत निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको छलफलमा प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको पनि दाबी गरेका थिए।
विश्वव्यापी महामारीरुपमा फैलिएको नोभेल कोरोना भाइरसविरुद्धको लडाइँ साझा भएको बताउँदै प्रधानमन्त्री ओलीले सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील रहेको बताए ।
उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान गर्न र कोरोनालाई त्रासको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।
सो छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र सम्बोधनको बारेमा स्पष्ट गरेका छन् ।

