नेचासल्यानद्वारा ढुंगा, गिट्टी र बालुवाको अबैध उत्खनन र बिक्रि बितरणमा रोक



डिल्ली शर्मा

सोलुखुम्बु , १९ भाद्र । नेचासल्यान गाउँपालिकाले सम्बन्धित सरकारी निकायहरुको स्वीकृति बिना ढुंगा,गिट्टी र बालुवाको उत्खनन तथा बिक्रि बितरण गर्न रोक लगाएको छ।

ब्यक्तिगत जग्गा, दुधकोशी नदी, सोलु र ठाडो खोलाबाट बिना अनुमति त्यस्ता कार्यहरू भइरहेको सूचनाका आधारमा व्यावसायिक प्रयोजनका लागि ढुंगा,गिट्टी र बालुवाको उत्खनन तथा बिक्री बितरणमा रोक लगाइएको अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

नेचासल्यान गाउँपालिकाको प्रथम गाउँसभाले २०७५ सालमै खहरेखोला किनारबाट बालुवा उत्खनन गर्न अनुमति नदिने निर्णय गरेको स्मरण गराँउंदै वहाँले व्यावसायिक रूपमा कार्य गर्नका लागि संघीय सरकारबाट निर्देशित ढुंगा गिट्टी तथा बालुवा उत्खनन, बिक्रि तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड-२०७७ र प्रदेश १ सरकारको प्रदेश वातावरण संरक्षण नियमावली-२०७७ बमोजिमका प्रक्रिया पूरा गरि स्वीकृति लिएर मात्र गर्नुपर्ने बताउनु भयो।

अध्यक्ष बास्तोलाका अनुसार गाउँपालिका वा अन्य निकायबाट स्वीकृति नलिइ व्यावसायिक प्रयोजनका लागि हालसम्म संकलित ढुंगा,गिट्टी र बालुवाको बेचबिखन र ओसारपसारका लागि गाउँपालिकाको आर्थिक एन-२०७७ अनुसारको शुल्क तिरेर मात्र गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्