डा. खतिवडाको अर्थमन्त्री पद गुम्ने निश्चित

लावण फुयल
काठमाडौं, १८ भाद्र। अर्थमन्त्री डा. युबराज खतिवडाको पद गुम्ने करिब निश्चित भएको छ।
सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भएपछि खतिवडाको अर्थमन्त्री पद गुम्ने निश्चित बनेको हो। सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संबैधानिक सुबिधा प्रयोग गरि प्रधानमन्त्री केपी शर्मा ओलिले अर्थमन्त्रीमा निरन्तरता दिएका खतिवडाको म्याद आइतबार सकिंदैछ। सो दिनसम्म उनी सांसद बन्न नसके उनको मन्त्री पद संवत् जाने संबैधानिक ब्यबस्था रहेको छ।
खतिवडा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित भएका थिए। राष्ट्रिय सभाका एक तिहाइ सदस्यको म्याद गत फाल्गुनमा सकिएको थियो।दुई, चार र छ बर्षमा सकिने पदावधिका लागि संसद सचिवालयले राष्ट्रियसभा सदस्यहरुलाइ चिठ्ठामार्फत समय सीमा निर्धारण गरेको थियो।खतिवडा दुई बर्षे पदावधि हुने सांसदमा परेका थिए।
खतिवडाको पक्षमा अडान लिंदै आएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वयंले बिहीबार बसेको पार्टीको सचिवालय बैठकमा राष्ट्रिय सभा सदस्यमा गौतमलाई सिफारिस गर्ने जानकारी गराएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन।यो संगै डा. खतिवडाले अर्थमन्त्रीमा निरन्तरता पाउने कुराको अन्त्य भएको छ।
‘प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतम पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिश हुने बैठकलाई जानकारी गराउनुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
कार्यदलको प्रतिवेदनमा बैठकमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको उनले जनाएका छन्।

