संकटको दलदलमा प्रधानमन्त्री ओलि !



काठमाडौं,१८ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलिको हठका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको सुल्झनै लागेको विवाद फेरि बल्झने सम्भावना बढेर गएको छ।

राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको रिक्त एक पदमा नियुक्तिको बिषयलाई लिएर उत्पन्न अन्तरद्वन्द्वका कारण मथ्थर हुँदै गएको नेकपा विवाद फेरि उत्कर्ष पुगेको छ। रिक्त राष्ट्रियसभा सदस्य पदमा पार्टी उपाध्यक्ष बामदेब गौतम लाई नियुक्त गर्ने कि अर्थमन्त्री डा. युबराज खतिवडालाइ नै निरन्तरता दिने भन्ने कुरामा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलि र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच बढ्दो मतान्तरले यस अघि पार्टीमा देखिएको विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन नै बेवारिसे बन्ने सम्भावना बढेर गएको छ।

उक्त प्रतिबेदन माथि छलफल गर्न सो पार्टीको सचिवालय बैठक आजका लागि बोलाइएको थियो।पार्टी भित्र नयाँ विवाद जन्मिएपछि प्रतिबेदन माथिको छलफल पर धकेलिने निश्चितप्राय बनेको छ ।

रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा अर्थमन्त्री खतिवडालाई निरन्तरता दिनु नहुने पक्षमा दाहाल र उनैलाई मनोनीत गर्ने अडानमा ओलि देखिएका छन।पार्टी भित्रको यहि विवादका कारण फाल्गुनमै गरिसक्नुपर्ने सिफारिस प्रधानमन्त्री ओलिले अहिलेसम्म पनि गर्न सकेका छैनन् । अध्यक्ष ओलिको चाहना बिपरित नेकपा सचिवालय बैठकले त्यतिबेला बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा प्रस्तावित गरेपछि ओलिले त्यति बेला कसैलाई पनि सिफारिस नगरेका हुन।बरु गैर सांसद पनि ६ महिनासम्म मन्त्री हुन पाउने संबैधानिक सुबिधाको उपयोग गरेर उनले खतिवडालाई अर्थमन्त्रीका रुपमा निरन्तरता दिएका थिए।

विगतमा पार्टी सचिवालयले गरेको निर्णय बिपरित प्रधानमन्त्री ओलिले डा खतिवडालाई नै कांध थाप्ने संकेत गरेपछि बिस्तारै ओलि कित्तामा उभिन लागेका उपाध्यक्ष गौतम समेत बिच्कने सम्भावना बढेर गएको छ।एक टेलिभिजन च्यानलसंगको कुराकानीका क्रममा गौतमलाई राष्ट्रिय सभामा लैजाने कुराको च्याप्टर क्लोज भएको प्रधानमन्त्री ओलिको अभिव्यक्ति पछि गौतमले सो पदको दावेदारी गर्नु कम अर्थपुर्ण छैन।गौतमको यो दावेदारीले प्रधानमन्त्री ओलि फेरि संकटको दलदलमा फस्ने निश्चित भएको चर्चा नेकपा भित्र चल्न थालेको छ।

भदौ २० गतेपछि अर्थमन्त्रीकै रुपमा निरन्तरता दिन खतिवडालाई राष्ट्रियसभाको सांसद नियुक्त गर्नुपर्ने बाध्यता उनलाई छ।अर्थमन्त्री रहेका खतिवडालाई पदबाट छिट्टै बिदाइ नगरिए उनका कारण पार्टी धेरै अलोकप्रीय हुदै जाने तर्क अधिकांश नेकपा कार्यकर्ताहरुले गरिरहेका छन।ओलिबाहेकका अन्य नेकपा नेताहरू पनि खतिवडासंग खुसी छैनन्। संबैधानिक प्रावधान अनुसार गैर सांसदका रुपमा छ महिनाका लागि मन्त्री नियुक्त भएका खतिवडालाइ बिदाइ गरेर पार्टीको विवाद अन्त्य गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने बेलामा प्रधानमन्त्री ओलि किन खतिवडाको सती जान खोजिरहेका छन यसले सबैलाई आश्चर्यचकित बनाइदिएको छ।

प्रतिक्रिया दिनुहोस्