कोभिड -१९ ले उत्पन्न गरेका चुनौति र हाम्रो दायित्व

*प्रकाश भट्टराई खत्री

नेपालमा कोरोना संक्रमणको सवाल सँगसँगै विकासका पुर्वाधार,आर्थिक,सामाजिक र मनोवैज्ञानिक क्षेत्रमा पनि गम्भिर सवालहरु उठन थालेका छन । कोभिड -१९ को संक्रमण सुरुभएसंगै चैतदेखि देशभर गरिएको लकडाउनले शहरी क्षेत्र नराम्रोसंग प्रभावित भएको छ। उद्योगधन्दा, कलकारखाना बन्द हुने क्रम बढेपछि नयाँ उत्पादनमा समेत ह्रास आएको छ।
नेपाली श्रम बजार संकुचित हुन थालेको छ । पर्यटन सेवा र निर्माणका कार्य ठप्प छन । लगानी तथा वित्तीय क्षेत्रको कारोबार पनि औपचारिकतामै सिमित छ। नेपालका उत्पादनशील क्षेत्रहरु सुचारु हुने टुङगो अझै छैन ।भई हाले पनि परिणाममुखी उत्पादनमा केही सयम लाग्ने निश्चित छ ।
कोभिड -१९ संक्रमणको असर शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा केही कम छ ।यद्यपि समग्र बिकासका पुर्वाधारमा यसले पारेको असरले नेपालमा दीर्घकालीन प्रभाव पार्ने कुरामा सन्देह छैन।
युद्ध तथा आन्दोलनका विभिन्न चरणहरु पार गर्दै स्थायी शान्तिको मार्गतर्फ अघि बढी रहेको नेपाल जस्तो बिकासोन्मुख मुलुकको समृद्धिको चाहनामा कोरोना संक्रमण अवरोधका रुपमा खडा भएको छ।बिश्वब्यापी महामारीका रुपमा फैलिएको यो भाइरसले बिकसित र समृद्ध मुलुकहरूको तुलनामा नेपाल जस्ता राष्ट्रहरुलाइ बढी नै असर गर्नु अस्वभाविक होइन।सुरुवाती दिनमा यसको संक्रमण दर कम भएपनि अहिले भयावह रुप लिंदै गएको छ।दिन प्रतिदिन कोरोना संक्रमणको ग्राफ बढ्दै जान थालेको छ। रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमहरुका बाबजुद पछिल्लो समय संक्रमणको संख्या दैनिक एक हजार भन्दा बढी देखिनु सांच्चिकै चिन्ताजनक बिषय हो।
विभिन्न राष्ट्रहरुले यो भाइरस बिरुद्धको खोप परीक्षण गरिएको दावी गर्दै आए पनि विश्व समुदाय त्यति बिश्वस्त हुन सकिरहेको छैन। यो अवस्थामा नागरिक स्वयंले सचेतता र सावधानी अपनाउनुको विकल्प छैन।यदि यसो गरिएन भने यो भाइरसका कारण मुलुकले ठूलो मानबीय र आर्थिक क्षति ब्यहोर्नु पर्ने संकेत पछिल्ला तथ्यांकहरुले गरिरहेका छन।
चीन, जापान रुस जस्ता कतिपय बिकशित मुलुकहरूले सुरुवाति चरणमै सतर्कता र रोकथामका विभिन्न विधिहरु अपनाएर केहि हदसम्म सफलता प्राप्त गरेका छन।
छिमेकी मुलुक भारतमा दिन प्रतिदिन संक्रमण दर बढदै गईरहेको छ।यो अवस्थामा नेपालले अझै पनि व्यबस्थित र प्रभावकारी ढंगले आफुलाइ अगाडी बढाउन सकेको छैन। नाकाहरुमा नाम मात्रको कडाइले बढ्दो चुनौतीको सामना गर्न सकिँदैन भन्ने यथार्थप्रति सरोकारवाला निकायले आँखा चिम्लिन मिल्दैन। लकडाउनका नाममा शक्तिको आडमा गरिएको पासको दुरुपयोग अहिले काठमाडौं उपत्यकाका लागि मंहगो सावित हुँदै गएको छ। सरकार रबैया र नागरिक हरुको हेलचेक्र्याइ फेरि पनि बिगतकै जस्तो हुने हो भने संक्रमणको रुप अझ भयाबह हुने निश्चित छ।
अझै पनि अशिक्षाको चपेटामा परेको नेपाल जनचेतनाका नाममा स्थानिय सरकार, प्रदेश सरकार लगायत केन्द्र सरकारले जनस्तरमा प्रभावकारी चेतना पुर्याउन नसक्नु पनि नेपालका लागि थप चुननौती रहेको छ । अर्थतन्त्रको हिसावमा नेपाल अन्य देशको तुलनामा निकै पछि रहेकै कारण भभौतिक श्रोत र साधनको अभाव हुनु स्वाभाविकै हो । यसरी अभावै अभावमा गुज्रीरहेको बेला कोभिड-१९ का बारेमा पुर्व सावधानीका बिधि र तरिकाको ठोस निति अपनाउन सकिएन भने त्यो दुर्भाग्यपूर्ण हुनेमा दुई मत छैन।
कोभिड १९ को सन्दर्भमा नेपाल सरकार र सम्बन्धित सरोकारवाला निकायहरु सबैभन्दा बढि जिम्मेवार हुनु पर्ने देखिन्छ । साथै प्रतिपक्षमा रहेका दल तथा पार्टीहरुले पनि खवरदारी गरिरहनु पर्ने देखिन्छ । कोभिडको नाममा भएको भष्ट्राचारले अबको एकदशक पनि नेपाल आर्थिक रुपमा अगाडी जान सक्दैन । किनभने बाहय देशबाट हुने रेमिट दिनप्रतिदिन घटदो दरमा रहन्छ भने नेपालका उधोगधन्दाहरु कच्चापर्दाथको अभावमा बन्दहुने अबूस्थामा प्ग्नेछन यो पनि चुनैतिको विषय बन्ने छ ।
कोभिड १९ का कारण नेपालको शिक्षा क्षेत्रमा पनि असर परिरहेको देखिन्छ । अन्य संघसस्थाको तुलनामा बिधालयमा धेरै बिधार्थीको चापहुने र कोभिडको उच्च सर्तकता अपनाउनु पर्ने हुदा शिक्षा क्षेत्रको लगानी र विकासमा समेत चुनैती देखापरेको छ । कोभिडका कारण शिक्षक व्याबस्थापन गर्न नसक्नु, बिधार्थी व्याबस्थापन गर्ने कठिनाई, पारिश्रमिकमा समस्या जस्ता विषयले पनि थप चुनैती थपिरहेको छ । पर्याप्त र प्रभावकारी स्वास्थ केन्द्रको अभावमा पनि कोभिडका बिरामीहरु मर्कामा परेका छन । स्तरीय क्वारेन्टाइन र आईशोलेसनको अभावमा नेपालमा कोभिडले राम्रै जरा गाड्ने खतरा देखिन्छ । कोभिड १९ टेष्ट गर्ने पिसिआर, आरडिटी मेशिनमा कमी हुनु, भएका मेशीनहरुको प्रभावकारी सददुपयोग नहुनु, थप मेशिन खरिद गर्ने नसक्नु, स्वाव परिक्षण अत्यन्त कम मात्रामा हुनु, रिर्पोटको वास्तविकतामा प्रश्न चिन्ह खडा हुनु, दिनरात खटिएका स्वास्थ्यकर्मीहरु नै असुुरक्षित हुनु जस्ता विषय पनि नेपालका लागि थप चुनौती हुन।
दुई छिमेकी मुलुक नेपाल र भारतका बीच कोभिड- १९ रोकथामका बिषयमा प्रभावकारी कुटनीतिक बार्ताको अभाव हुदा पनि भारत लगायत अन्य तेस्रो मुलुकबाट नेपाल भित्रिएका नेपालीहरुको व्याबस्थापनमा समस्या उत्पन्न भइ रहेको छ। खुल्ला सीमानाका कारण रोजगार लगायत अध्ययनमा गएका नेपालीहरु सिमाना पार गर्दै नेपालमा अव्यबस्थित रुपमा भित्रिने र सरकार र सरोकारवाला व्यक्तिहरुले ऊनीहरुलाइ होम क्वारेन्टिन वा आईसोलेसनको व्यवस्था नगर्ने हो भने दिनप्रतिदिन कोभिडको चुनौती घट्ने भन्दा बढ्ने दिशातर्फ जाने छ।
कोभिड- १९ लको सन्दर्भमा विश्व स्वास्थ्य संगठने नेपालमा पनि थप समस्या उत्पन्न हुन सक्ने चेतावनी दिई रहेको छ। लकडाउनलाई खुकुलो पार्ने र आवश्यकता भन्दा बढी सवारी पास वितरण गर्नु घातक हो भन्ने पुष्टि भैसकेको छ।लकडाउन नगरेकै कारण अमेरिकामा कोरोनाले धनजनको क्षति भएको तथ्यलाई स्मरण गर्दै नेपालले लकडाउनमलाई थप कडाई गर्दै संक्रमणबाट बच्नका लागि प्रभावकारी बिधिहरुको अबलम्वन गर्नुपर्ने देखिन्छ ।
नेपालको शहरी क्षेत्रमा दुई हप्ता यता लगाइएको निषेधाज्ञा केही मात्रामा प्रभावकारी देखिए पनि ग्रामीण क्षेत्रमा भने न्यून रहेको पाईन्छ । आगामी दिनमा संक्रमणको संख्यामा वृदि हुँदै जादा ग्रामिण क्षेत्रमा बढि मात्रामा क्षति हुने तर्फ बेलैमा सचेत हुन जरुरी छ।
सरकार कोभिडको नाममा भ्रष्टाचारमा लिप्त रहेको आरोप लाग्ने गरेको छ। नेपाली जनताको झण्डै दुई तिहाइ बहुमतबाट निर्मित सरकारको बर्तमान कार्यशैलीले जुन जोगी आए पनि कानै चिरेको भन्ने लोकोक्तिको चरितार्थ गरिरहेको छ।यस्तो संक्रमणको समयमा सरकारले सिमित श्रोत र साधनका बीच कुशल व्याबस्थापनको सीप प्रर्दशन गर्न सक्नु उसका लागि हितकर बिषय हो।सरकारले आफनो नेतृत्वको पनि परिक्षण गर्नु पर्ने समय हो । सरकारले विपत्ति र चुनौती समयमा डटेर सामना गर्न सक्दैन भने उसले डाईनोसरको नियति भोग्नुको विकल्प छैन।यस्तो बेला सरकारको मुख मात्र नताकी नागरिकले पनि आफ्नो दायित्व निर्बाह गर्नुपर्छ।त्यो भनेको सचेततापूर्बक सावधानी अपनाउनु नै हो।
*नेचासल्यान २ सोलुखुम्बु

