एकै परिवारका चारसहित कालिकोट पहिरोमा गयो १० जनाको ज्यान



काठमाडौं,१५ भाद्र। कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा गएको सुख्खा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १० पुगेको छ। आइतबार बिहान नाग्म बजारमा पहिरो जाँदा एकै घरका चारसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा बेपत्ता ६ जनाको पनि शव फेला परेको कालिकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। पहिरोले चार घर पुरेको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि जारी भएको निषेधाज्ञाको कारण घरभित्रै बसेको बेला माथिबाट खसेको पहिरोले उनीहरुलाई पुरेको हो।

पहिरोले स्थानीय लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारको घर भत्किएको प्रहरीले जनाएको छ। एक्कासी घर भत्किँदा भित्र बसेकाहरु पुरिएका हुन्। पहिरोमा परेर ४० वर्षीय प्रयाग शाही, उनकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही, उनका दुई वर्षीय छोरा अक्कल शाही, सोही ठाउँका ३५ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय राजेन्द्र भेरिकार, सुर्खेतको भेरीगंगा १० की ४५ वर्षीया आइती खड्का र वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापाको मृत्यु भएको डिएसपी ओलियाले जानकारी दिए। पहिरोमा अझै दुई जना बेपत्ता छन्। उनीहरुको डोजरको सहायतामा खोजी भइरहेको छ। पहिरोमा परेर गम्भीर घाइते भएका दुई जनालाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ।

प्रतिक्रिया दिनुहोस्