कोरोनाले संचार क्षेत्रमा पारेको प्रभाव अध्ययन गर्न अर्यालको संयोजकत्वमा समिति

काठमाडौं,११ भाद्र । न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

गत साउन २६ को सञ्चार मन्त्रीस्तरीय निर्णयानुसार गठित सो समितिमा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख चिरञ्जीवी खनाल, सूचना तथा प्रसारण विभागका महानिर्देशक किरणराज शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेल, नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल, ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा र सदस्यसचिवमा मन्त्रालयका उपसचिव संगीता ओझा रहेकी छन् ।
उपसचिव ओझाका अनुसार समितिले श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार सञ्चार प्रतिष्ठानहरुको श्रमजीवी पत्रकारको अवस्था र उनीहरुको जीवनवृत्तिबारेको चुनौती, कोभिड १९ ले सञ्चार गृहमा पारेको प्रभाव, कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सञ्चार गृहले दिएको योगदान आदिबारे अध्ययन गरी प्रतिवेदन दिने छ।

