कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसको १३ बुंदे सुझाव

काठमाडौ ।प्रमुख विपक्षी दल नेपाली काग्रेसले सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना सङ्क्रमण रोक्ने र लकडाउनका कारण उत्पन्न आर्थिक,सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको आरोप लगाएको छ।

सरकार संवेदनशील नहुँदा सङ्क्रमण नियन्त्रण बाहिर जान लागेको र नागरिक जीवन अत्यन्त संकटमा परेको ठहर गर्दै सो पार्टीले कोरोना महामारी नियन्त्रणमा सरकारले तत्काल गर्नुपर्ने १३ काम बारे सुझाव समेत दिएको छ।
कांग्रेसद्वारा गठित कोभिड-१९ अनुगमन समितिको तर्फबाट देशभरिको अवस्थाको अनुगमनका आधारमा निकालिएको निष्कर्षअनुसार सरकारलाई सुझाव दिइएको हो।
जसअनुसार कोरोना सङ्क्रमण नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्न कांग्रेसले भनेको छ। उसले हरेक अस्पतालमा कोरोना संक्रमित विरामी राख्ने कुरा व्यवहारिक नभएकोले तत्काल आवश्यक संख्यामा निजी अस्पतालहरुलाई कोरोना अस्पताल घोषणा गर्नुपर्ने कांग्रेसको सुझाब छ।
कांग्रेसले अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टीलेटरको तत्काल व्यवस्था गर्न माग गर्दै स्वास्थ्यकर्मीहरुलाई बीमा तथा कोरोना जोखिम भत्ता दिन आग्रह पनि गरेको छ।
त्यस्तै स्वास्थ्यकर्मीमाथि हुने गरेको दुर्व्यवहार र आक्रमण रोक्न आग्रह गर्दै कांग्रेसले सङ्क्रमणको सर्भिलेन्स र ट्रेसिङको आधारमा जोखिम बढी भएका ठाउँमा पीसीआर परीक्षण व्यापक बनाउन माग गरेको छ।
औषधिको सहज र सुलभ उपलब्धता, स्थानीय र प्रदेश तहका स्वास्थ्यकर्मीलाई तालिम, विदेशमा अलपत्र नेपालीलाई तत्काल नियमित उडानमार्फत फिर्ता ल्याउन र फर्किएकाका लागि उचित आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्न पनि कांग्रेसले सरकारलाई सुझाव दिएको छ।
कोरोना संक्रमण भएकाहरूलाई अस्पतालमा राख्ने वा होम आइसोलेसनमै राख्ने भन्ने निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने भन्ने विषय अव्यवहारिक भएको कांग्रेसले जनाएको छ। यो विषयमा सम्बन्धित अस्पतालले नै निर्णय गर्न पाउनुपर्ने कांग्रेसको माग छ।
त्यस्तै वैकल्पिक विधि अपनाएर उच्च शिक्षा तहको परीक्षा सञ्चालन गरी शैक्षिकसत्र खेर जान नदिन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

