कोरोनाका कारण आज बिहानै पाँच जनाको मृत्यु, कुल संख्या १ सय ६० पुग्यो

काठमाडौं, १० भाद्र।कोरोना भाइरस संक्रमणका कारण बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या १ सय ६० पुगेको छ।

मंगलबार राती र बुधबार बिहान थप पांचजनाको मृत्यु भएसगैं यो संख्या १ सय ६० पुगेको हो।बाराका थप दुई जनाको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । यी दुई जनाको कोभिड अस्पताल वीरगन्जमा उपचार भइरहँदा मृत्यु भएको हो ।
वीरगन्जमा मृत्यु हुनेमा कलैयाका ६६ वर्षका पुरुष र ४२ वर्षका पुरुष रहेका छन् । यी दुवै जनामा निमोनियाको समस्या पनि देखिएको थियो ।
यसअघि मंगलबार रातभर पनि नेपालमा कोभिड १९ का कारण अन्य तीन जनाको निधन भएको समाचार प्राप्त भएको थियो ।
यसरी निधन हुनेमा बाँकेमा थप एकजना कोरोना संक्रमित रहेका छन् । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका ३७ वर्षका पुरुषको निधन भएको हो । उनलाई कोरोना सँगसँगै निमोनियाको पनि समस्या भएको बताइएको छ । उनी ८ भदौमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
त्यस्तै, ललितपुरमा रहेको पाटन अस्पतालमा पनि उपचाररत एक कोरोना संक्रमितको निधन भएको छ । ५४ वर्षका यी कोरोना संक्रमितको मंगलबार राति साढे ९ बजे उनको निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी २३ साउनमा पाटन अस्तालमा भर्ना भएका थिए ।
त्यस्तै, मंगलबार राति नै विराटनगरमा एक जना संक्रमितको निधन भएको छ । ४४ वर्षकी यी महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । उनी मंगलबार मात्रै अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई पनि निमोनियाको समस्या देखिएको थियो ।

