खोपले मात्रै कोरोना भाइरस नियन्त्रणमा आउँदैन: बिश्व स्वास्थ्य संगठन

एजेन्सी । कोरोना भाइरसको महामारी विरुद्धको लडाईमा खोप महत्वपूर्ण औजार भएपनि यसले मात्रै महामारी नियन्त्रणमा नआउने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।

महामारी आफैं अन्त्य नहुने र वैज्ञानिकहरुले यसको नियन्त्रण गर्न कुनै उपाय पत्ता लगाउँछन् कि लगाउँदैनन् भन्ने कुरा पनि सुनिश्चित नभएको बताइएको छ । विश्वभर नेता र आम जनताले भाइरसको व्यवस्थापन गर्न सिक्नु पर्ने र भाइरसको संक्रमणलाई न्यूनस्तरमा झार्न दैनिक जीवनशैलीमा स्थायी समायोजन ल्याउनु पर्ने डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले संगठनको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।
यस महीनाको शुरुमा नै टेड्रोसले कोरोना भाइरसको उपचारको लागि अचुक रामबाण नभएको र यस्तो कहिले नहुन सक्ने बताएका थिए । जनस्वास्थ्य र रोग नियन्त्रणका आधारभूत कुराहरुको अभ्यास गरेर नै नयाँ महामारीहरु नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

