चाड पर्व फेरि आउँछन् ,अहिलेलाई ज्यान बचाउँ

•सुशील तिवारी ||
हिन्दु महिलाहरुको महान चाड हरितालिका (तीज) हिजो सम्पन्न भएको छ । विगत वर्षहरुमा निकै हर्षोल्लासका साथ धुमधामसंग मनाइने यो चाड यस पटक साँच्चिकै निरश वन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण महिलाहरु घर वाहिर निस्कन नपाएपछि तीज यस पटक तीज जस्तो भएन ।

आमा दिदि वहिनीहरु एकै ठाउ“मा भेला भएर नाचगान गरि मनाइने प्रचलन रहेको तीज यसपटक सुनसान बनेपछि तीजको वास्तविक रौनक नआउनु अस्भाविक होइन ।
विवाहित महिलाहरुले पतिको दीर्घायूको कामना र अविवाहिताहरुले भगवान् शिव जस्तो वर पाउनका लागि व्रत गरेर यो पर्व मनाउने गरिएको शास्त्रीय मान्यता छ ।
व्रतालु महिलाहरु नजिकैको शिवालयहरुमा गएर पूजापाठ गर्नुका साथै नाचगान गरेर रमाईलो गर्ने गर्दछन् । तर मुलुकका अघिकांश स्थानहरुमा लकडाउन र निषेधाज्ञा भएका कारण यस पटक शिवालयहरु सुनसान बनेका मात्र छैनन्, माइत जान नपाएर अधिकांश चेलीहरु घरमै तीज मनाउन वाध्य छन् । तीजमात्र होइन नेपालीहरुका अन्य महान चाँड वडा दशै, तिहार र छठ पर्व पनि कोरोना कहरका कारण यस्तै हुने संम्भावना वढेर गएको छ ।
परिस्थितिजन्य वाध्यताका रुपमा यसलाई ग्रहण गरेर यसैसंग रमाउनुको अर्को विकल्प पनि हामीसंग छैन । बरु संक्रमितहरुको सिघ्र स्वास्थ लाभको कामना र कोरोना भाइरस संक्रमणको अन्त्यका लागि हामी सबै मिलेर प्रार्थना गर्नु अहिलेका लागि श्रेयश्कर कुरा हो ।
चाड पर्व हरेक वर्ष आउने र जाने गर्छन । यो हामीले वुझेकै तथ्य हो । तर जीवनकै अन्त्य भयो भने त्यो फर्केर कहिल्यै आउ“दैन भन्ने यथार्थ पनि हामीले वुझेकै छौ । तसर्थ जीवन रोज्ने कि चाडपर्व ? भन्ने प्रश्न आयो भने पक्कै पनि हामीले चाडपर्व छोडेर जीवन नै रोज्नुपर्ने हुन्छ । त्यति प्यारो हाम्रो जीवनलाई निरन्तरता दिनका लागि अहिले हामी कोरोणा भाइरस संक्रमणसंग वच्नुको अर्को विकल्प छैन । त्यसकारण यस वर्षका चाडपर्वहरु कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच विज्ञहरुको सल्लाह र सरकारको निर्देशन अनुरुप मनाउनु हामी सबैको दायित्व हो ।

