निषेधाज्ञा उल्लंघन गर्ने एक हजार बढीलाई प्रहरी कारबाही



काठमाडौं,४ भाद्र।स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्ने एक हजार एक सय ७० जनालाई प्रहरीले कारबाही गरेको छ।

बिहीबारदेखि भदौ १० गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो। त्यसै अन्तर्गत निषेधाज्ञाको उल्लंघन गर्ने एक हजार एक सय ७० जनालाई प्रहरीले कारबाही गरेको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशिलकुमार यादवका अनुसार उनीहरूलाई कारबाहीस्वरुप कम्तिमा पनि दुई घण्टा होल्ड गरी छाडिएको छ।

‘हामीले उल्लंघन गर्नेहरूलाई कम्तिमा पनि दुई घण्टा होल्ड गरी छाडेका छौं,’ एसएसपी यादवले भने। अहिलेसम्म काठमाडौंमा ४ सय ३७, ललितपुरमा ४ सय ९८ र भक्तपुरमा २ सय ३५ जनालाई होल्ड गरी छाडिएको छ।

त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ८ सय ९३ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्