काठमाडौंका सिडिओ भन्छन्- पासको व्यवस्था छैन, निषेधाज्ञा नमान्नेलाई कारबाही हुन्छ



काठमाडौं,  ३ भदाै । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पूर्व सावधानीको रुपमा काठमाडौं उपत्यकामा तत्कालै मानिसको आवागमनलाई ठप्प नपार्ने हो भने विकराल अवस्था आउन सक्ने देखिएपछि तीन वटै जिल्लाको सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको बताएका छन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजे सम्मका लागि काठमाडौं उपत्यकाभर अत्यावश्यक बाहेकका सबै सेवासहित मानिसको आवागमन समेत बन्द गर्नेगरी निषेधाज्ञा जारी भएकाे उनले बताए।

अत्यावश्यक परेका व्यक्तिलाई सवारीसाधनको आवतजावतका लागि भन्दै जिल्ला प्रशासनले कुनै पासको व्यवस्था नगर्ने तर आफ्नो परिचय पत्र र कामको महत्वका आधारमा आवतजावत गर्न सक्ने उनले बताए।

निषेधाज्ञाको अवस्थामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाइने छैन। उनका अनुसार अत्याावश्यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि पाइने छैन।

अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न नदिने र जिल्ला भित्र पनि सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न नपाउने गरी आदेश जारी गरिएको दाहालले बताए।

त्यस्तै कोभिड १९ को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा आउन र जानका लागि विहान ९ बजे देखि साढे १० बजे सम्म र बेलुकी ३ बजेदेखि साढे ५ बजेसम्म आवागमन गर्न दिने भएको छ।

अत्यावश्यक वस्तु तथा सेवा अन्तर्गत औषधि, खाद्यवस्तुु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन अस्पताल जाने आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी साधनका लागि पूर्व अनुमति आवश्यक नपर्ने प्रमुख दाहालले बताए।

उनले भने ‘मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, भेला हुन, भिडभाड गर्न, सभा जुलुस गर्न पाइने छैन, त्यस्तै परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न पाइने छैन।’

शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्यूशन सेन्टर, भाषा कक्षा लगायतका क्रियाकलापमहरु सञ्चालन गर्न समेत निषेध गरिएकाे छ। सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरन्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना समेत सञ्चालन गर्न पाइँदैन।

फुटपाथ र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय, कवाडी संकलन, होटल, रेष्टुँरा समेत सञ्चालन गर्न पाइने छैन। बैंकिङ सेवाका लागि भने भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन र सम्भव नभएमा न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत आदेश गरेको छ।

अत्यावश्यक सेवाका लागि घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने र न्यूनतम भौतिक दूरी कायम गर्न उनले आग्रह गरेका छन्। हवाई उडानबाट विदेशमा जानेहरुका लागि पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्ने व्यवस्था मिलाउन भनिएकाे छ।

अत्यावश्यक उपाभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्मा गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कानून बमोजिम कारबाही गर्ने निर्णय भएको समेत दाहालले बताए। आदेशको कसैले उल्लंघन गरेमा ऐनअनुसार ५ सय रुपैयाँसम्म जरिवाना र १ महिनासम्म कैद हुन सक्ने उनले बताए।

साभार :सेतोपाटीडटकमबाट

प्रतिक्रिया दिनुहोस्