सांढे चार लाखको सुन ठगी गर्ने महिला ज्ञानेश्वरबाट पक्राउ



काठमाडौं,२९ साउन ।रकम नभएको चेक दिएर करिब साढे चार लाखको सुन ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । झापा शान्तिनगर–९ स्थायी घर भई हाल नयाँ बानेश्वर बस्ने २९ वर्षीया शारदा मगर ज्ञानेश्वरबाट पक्राउ परेकी हुन् ।

मगरले चार लाख ३६ हजार बराबरको सिक्री, लकेट, ब्रासलेट, हिराको औँठीलगायत सुनका गरगहना बनाई रकम नभएको चेक दिएकी थिइन् ।

प्रहरीले उनको साथबाट सुनको सिक्री डेढ तोला थान १, सुनको लकेट ५४ लालको थान १, सुनको ब्रासलेट १ तोला ५२ लालको थान १, हिराको औठी थान १ र सुनको औठी ३५ लालको थान १ बरामद गरेको छ ।

उनले व्यापारीलाई दिएको चेक साट्न जाँदा उनको बैंक खातामा पैसा नहुने पाइएपछि व्यापारीले आफू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।

उजुरीपछि प्रहरीले उनलाई बिहीबार ज्ञानेश्वरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्