वन अधिकृतसहित ६ जना अख्तियारको नियन्त्रणमा



काठमाडौं,२८ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित ६ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यादवसमेतले सेवाग्राहीसँग १७ हजार रूपैयाँ घुस लिएको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उक्त घुस रकमसहित उनीहरुलाई नियन्त्रणमा हो ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा सहायक वन अधिकृत यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुर उदयपुरका प्रमुख बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा, मनोज कुमार राउत छन् ।

प्रहरीले पक्राउ गरेकालाई आयोगको जिम्मा लगाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्