सुतिरहेका बेला घर भत्कंदा डोटीमा एकै परिवारका चारजनाको मृत्यु,पांच घाइते
काठमाडौं,२७ साउन। डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । अरु पाँच जना घाइते भएका छन् ।

गए राति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको उद्धारमा संलग्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आदर्श गाउँ कमिटी अध्यक्ष गोविन्द पार्कीले जानकारी दिएका छन् ।
घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम ल्याइँदैछ ।
राति सुतेका बेला घर भत्किँदा ठूलो क्षति भएको पार्कीले बताए । प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिएका छन् । उनले घर भत्किँदा चार जनाको ज्यान गएको खबर पुष्टि गरेका छन् ।

