सोलुखुम्बु : बिदेशबाट आएका नागरिकले सिधै गाउँ जान नपाउने
सोलुखुम्बु,२७ साउन । बिदेशबाट आउने जिल्लाबासीहरुले सोलुखुम्बुमा सिधै आफ्नो गाउँपालिकामा जान नपाउने भएका छन। जिल्ला सदरमुकाम सल्लेरीमा रहेको क्वारेन्टाइनमा स्वाव परीक्षणपछि कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरुलाइ सम्बन्धित गाउँपालिका पठाउने निर्णय भएको छ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका अध्यक्ष बीरकुमार राइको अध्यक्षतामा सोमबार बसेको स्थानीय तह प्रमुख तथा कार्यालय प्रमुखहरुको संयुक्त बैठकले त्यसका लागि जिल्ला सदरमुकाममा रहेको क्वारेन्टाइनमा बेड संख्याको वृद्धिका साथै थप ब्यबस्थित गर्ने निर्णय भएको बैठकका सहभागीहरुले बताएका छन।जिल्लामा आइसोलेशनको ब्यबस्थापन तथा सन्चालन अस्पताल बिकास समितिमार्फत गर्ने र सदरमुकाममा क्वारेन्टाइनमा राख्दाको खर्च सम्बन्धित स्थानीय तहहरुले ब्यहोर्ने निर्णय भएको समन्वय समिति प्रमुख राइले जानकारी दिए।
बैठकमा प्रदेशसभा सदस्य सोलुखुम्बु ख का सांसद बुद्धिकुमार राजभण्डारी, जिल्ला समन्वय समिति उपप्रमुख धर्मराज बन,सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पा,थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम थुलुङ,नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला लगायत अन्य स्थानीय तहका प्रमुख साथै सरकारी कार्यालयका प्रमुखहरुको उपस्थित रहेको थियो।
प्रमुख राइका अनुसार जिल्लामा भालुका कारणले हुने मानबीय र अन्नबालीको क्षति रोक्न डिभिजन बन कार्यालयले सुरक्षात्मक प्रबिधिको उपयोग गर्ने र सिद्दिचरण राजमार्गको साल्मे खण्ड को सिस्नेरी भीरमा पहिरोका कारण आवागमन अवरुद्ध हुन नदिने एक जेसीबी तयारी हालतमा राख्ने निर्णयसमेत बैठकले गरेको छ।

