खुम्बु पासाङल्हामु : घाटदेखि तेका गाउँसम्म जाने बाटो निर्माण सम्पन्न

खगिन्द्र बास्तोला ||

सोलुखुम्बु, २५ साउन।जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ घाटदेखि तेका गाउँ जाने बाटो निर्माण कार्य सम्पन्न भएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तर्गत चौँरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको गत आर्थिक बर्षको योजना तथा कार्यक्रम अनुसारको विकास बजेटबाट सो बाटो निर्माण कार्य सम्पन्न भएको हो । छोमोलोङ्मा मध्यवर्ती क्षेत्र उपभोक्ता समूह, घाटद्वारा २०७६ को फागुन २५ गतेबाट निर्माण शुरु गरिएको तेका गाउँ जाने बाटो २०७७ को साउन २५ मा सम्पन्न भएको समूहका अध्यक्ष आङनुरु शेर्पाले जानकारी दिनुभयो ।
उक्त बाटो निर्माणका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको विनियोजित रकम रु. ३० लाख लागेको शेर्पाको भनाइ छ ।
बाटो निर्माणका क्रममा घाट, ठाडोकोशी र तेकाका स्थानीयवासीहरुले ११० दिनसम्म कामदारहरूलाई नि:शुल्क खाजा, चिया र तरकारीको सहयोग गरेका थिए । ८०० मिटर लम्बाई भएको सो बाटो निर्माणले चौपाया तथा मानिस आवतजावतमा समेत सहज हुने स्थानीयको भनाइ छ ।

