अध्यक्ष बास्तोला भन्छन,-‘उज्यालो नेचासल्यानको हाम्रो सपना यहि बर्ष पूरा गर्दैछौं’



डिल्ली शर्मा

सोलुखुम्बु, २६ साउन।नेचा सल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाले समृद्ध र विकसित गाउँपालिका निर्माणका लागि चालू आर्थिक बर्ष कोशेढुंगा साबित हुने बताएका छन।

आफू अध्यक्ष निर्बाचित भएदेखि नै बिकसित र समृद्ध गाउँपालिका निर्माणका लागि अहोरात्र खटिरहेको बताउंदै बास्तोलाले रहस्य खबरसंग भने,- ‘केही कामहरूको परिणाम जनताले यसै बर्ष अनुभुत गर्नेछन।पूर्बाधार र विद्युतको क्षेत्रमा देखिने यो परिणाम पालिकाको समृद्धिसंग जोडिने मेरो बुझाइ छ।’

उनले बर्षौंदेखी जनताले देखेको ‘उज्यालो नेचासल्यान’को सपना पनि यसै बर्ष पूरा हुने दावी गरे।’केन्द्रीय प्रसारण लाइनलाई जोड्ने काम प्राथमिकताका आधारमा धमाधम भइ रहेको छ, तुइन्टार लघु जलविद्युत आयोजनाको सफल परिक्षण सम्पन्न भयो, विद्युत बिस्तारको कामलाई तिब्रता दिएर हामी छिट्टै गाउँपालिकालाइ झिलिमिली बनाउंदैछौं, अध्यक्ष बास्तोलाले भने।

गाउँपालिकाका सबै क्षेत्रमा मोटरबाटोका लागि ट्र्याक ओपन र कतिपय सडक खण्डको स्तरोन्नति यसै बर्ष सम्पन्न गरिसक्ने योजना रहेको बास्तोलाको भनाइ छ।उनले स्तरोन्नति हुन बांकी सडकको आगामी बर्ष ब्यबस्थापन गरिने बताए।त्यसका लागि बजेटलाई व्यवस्थापन गर्ने, विगत सालमा नसकिएको कामलाई निरन्तरता दिने, बेरोजगारहरुलाई रोजगार प्रदान गर्नका लागि रोजगार कोष स्थापना गर्ने र मनोरञ्जन पार्क निर्माणका लागि जग्गाको खोजी गर्ने कामसंगै डिपिरआर तयार भइरहेको जानकारी समेत बांस्तोलाले दिए।

नेचा सल्यानले चालू आर्थिक बर्षमा शिक्षा र स्वास्थ क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउंदै अध्यक्ष बांस्तोलाले भने,-‘ बजेटको आधारमा हेर्दा पूर्वाधार विकास अगाडि देखिए पनि हाम्रो पहिलो प्राथमिकता सामाजिक क्षेत्र हो भने दोस्रोमा कृषि र तेस्रोमा पूर्वाधार विकासलाई राखिएको छ।’

शिक्षाको क्षेत्रमा ससर्ततर्फ प्राप्त बजेटसंगै गाउँपालिकाको ब्यबस्थापनमा गाउँशिक्षा निर्माण योजना, शिक्षक विद्यार्थीका लागि डायरी , वैकल्पिक शिक्षा, आधारभूत तहलाई व्यवस्थापनको कार्य गरिने बताउँदै उनले स्वास्थ्यतर्फ सामान्य बिरामी भएपनि शहर या अन्यत्र जानुपर्ने नेचासल्यानबासीको बाध्यतालाई अन्त्य गर्नका लागि सल्यान प्राथमिक अस्पताललाइ ब्यबस्थित रुपमा सन्चालन गरिने बताए।त्यसका लागि डिजिटल एक्सरे किन्न प्रस्ताव समेत पेश गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्