खुम्बुपासाङ ल्हामुका सबै वडामा विद्युत बिस्तारको काम तत्काल अघि बढाइने

काठमाडौं, २३ साउन ।नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका प्रमुख पर्यटकीय क्षेत्र भएका कारण त्यस क्षेत्रमा तत्काल विद्युत बिस्तारका लागि काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

खुम्बुपासाङ ल्हामु गाउँपालिकाका कार्यबाहक अध्यक्ष टासील्हामु शेर्पाको नेतृत्वमा गएको गाउँपालिकाको टोलिसंग कुरा गर्दै प्रबन्ध निर्देशक घिसिङले सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो।
भेटमा गाउँपालिकाका कार्यबाहक अध्यक्ष शेर्पाले पालिकाका सबै वडामा विद्युतीकरण गर्न केन्द्रीय प्रसारण लाईन त्यस क्षेत्रसम्म लैजान आग्रह गर्नु भएको थियो। प्रबन्ध निर्देशक घिसिङले केन्द्रीय प्रशासनको काम सुरु गर्न तत्काल लागत ईस्टिमेटको लागि सर्वे गरी यसै बर्ष बहुबर्षे ठेक्का लगाई काम सुरू गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको गाउँपालिकाका प्रबक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिनुभयो ।

टोलिमा कार्यबाहक अध्यक्ष शेर्पा, प्रबक्ता शेर्पा, वडा नं २ का अध्यक्ष आङफुर्बा शेर्पा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद भट्टराई र नेपाल बायुसेवा निगम संचालक समितिका सदस्य फुर्वाग्याल्जेन लामा सहभागी हुनुहुन्थ्यो ।

