मन्त्रीदेखि डाक्टरसम्मलाई कोरोना, बिहिवार थपिए ३ सय ६० संक्रमित



काठमाडौं , २२ असार । बिहिवार मुलुकभर ३ सय ६० जना कोरोना संक्रमित थपिएका छन। जस मध्य काठमाडौंमा मात्रै ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौंमा चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका एक चिकित्सक र संघीय संसद सचिवालयका प्रबक्ता डा रोमनाथ पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ।संसदको सार्बजनिक लेखा समितिको अनुगमन टोलिका सदस्य रहेका पाण्डेलाई बिहिवार कोरोना संक्रमण पुष्टि भएको हो।

उता प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सत्तारुढ जसपाका प्रदेशसभा सदस्य डा.रिना यादव र विभिन्न मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएसंगै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको कामकाज बन्द गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेशसभा सदस्य डा. रिना यादव, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत कर्मचारीहरु कोरोना संक्रमित भएपछि सम्पूर्ण कामकाज बन्द गरि मन्त्रालय भित्र प्रवेश निषेध गरी सिल गरिएको छ ।

आन्तरिक मामिला मन्त्रालयमा बुधबार ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि सामाजिक विकास मन्त्रालयमा ४ र मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिए लगत्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सतर्कता र सुरक्षा अपनाउन मन्त्रालयहरुको कामकाज बन्द गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्