कृषि उपकरणको उपयोग गरेर आर्थिक उपार्जन गर्नु पर्नेमा सांसद राजभण्डारीको जोड



सोलुखुम्बु । प्रदेश सभा सदस्य एवं नेकपा प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कृषकको आत्मनिर्भरताका लागि प्रदेश सरकारले कृषिमा जोड दिएको बताएकाछन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले ७५ प्रतिशत अनुदानमा उपलब्ध गराएको आधुनिक कृषि उपकरण बिहिबार वितरण गर्दै राजभण्डारीले कृषिमा आत्मनिर्भरता बृद्धि गर्न आवश्यक भएको बताए । उनले किसानले उपकरणको भरपुर उपयोग गर्दै आर्थिक उपार्जन गर्नु पर्नेमा जोड दिए । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लगानीमा ९९ जना किसानलाई हाते ट्रयाक्टर, ३१ जना कृषकलाई धान तथा गहुँ चुट्न प्रयोग हुने थ्रेसर मेसिन, १३ जना कृषकलाई धान, गहुँ तथा घाँस काट्न प्रयोग गरिने ब्रस कटर वितरण गरिएको हो ।

यस्तै ५ जनालाई मकै छोडाउने मेसिन, ४ जालाई विद्युतीय पाइडल थ्रेसर मेसिन वितरण गरिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुलबहादुर राईले जानकारी दिए ।
कृषिमा यान्त्रिकरण गर्ने योजना अन्तर्गत ति उपकरणहरु वितरण गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कुल बहादुर राईले जानकारी दिनुभयो । प्रदेश सरकारको आर्थिक सहयोगमा ज्ञान केन्द्रले कृषकलाई विभिन्न यन्त्रहरु वितरण गरिरहेको उनको भनाई छ । प्राप्त कृषि उपकरणहरुले कृषि कार्यमा निकै सहज हुने किसानहरुले बताएकाछन् । आधुनिक मेसिनले काम गर्दा समयको बचत हुनुका साथै सजिलै काम गर्न सकिने तिङ्लाका किसान जस बहादुर राईले बताए । साभार: सोलुखुम्बु समाचार डटकमबाट

प्रतिक्रिया दिनुहोस्